Logo

निर्वाचनको सम्पूर्ण तयारी पुरा, ६२ हजार ४ सय उम्मेदवार चुनावी प्रतिस्पर्धामा

निर्वाचनको सम्पूर्ण तयारी पुरा, ६२ हजार ४ सय उम्मेदवार चुनावी प्रतिस्पर्धामा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताएको छ । हालसम्म प्रायःजसो मतदान केन्द्रबाट मतदाता परिचयपत्र समेत बितरण भइसकेको र बुधबार बिहान ७ बजेदेखि हुने निर्वाचनका लागि सबै तयारी पुरा भइसकेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिए ।

आयोगका अनुसार भोली हुने १, ५ र ७ नम्बर प्रदेशको स्थानीय निकायको निर्वाचनमा ६२ हजार ४ सय ८ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । जसबाट १५ हजार ३८ जना उम्मेदवार निर्वाचिनत हुनेछन् भने ४१ जना उम्मेदवार निर्विरोध चयन भइसकेका छन् ।

तीन वटा प्रदेशबाट कुल ६४ लाख ३२ हजार ७ सय ६५ जना मतदाताले मतदान गर्ने छन् । उनीहरुका लागि ४ हजार ५ सय ८१ मतदान स्थल र ८ हजार ३ सय ६४ मतदान केन्द्र रहेका छन् ।

आयोगका अनुसार दोस्रो चरणको स्थानीय निकायको निर्वाचनमा सुरक्षाकर्मी बाहेक ६६ हजार ९ सय कर्मचारी परिचालन गरिएको छ भने ४८ संस्थाका ६ हजार ७ सय ३३ जना पर्यवेक्षक परिचालन समेत परिचालन गरिएको छ । साथै शान्ति सुरक्षा मजबुद बनाइएको र कोही कसैले जनताको मदाधिकार कुण्ठित गर्न खोजेमा वा कुनै पनि प्रकारका अनैतिक गतिविधि गरेमा सुरक्षाकर्मीले विफल बनाइदिने यावदले बताए ।

निर्वाचनबाट १ महानगरपालिका, ७ उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकाले जनप्रतिनिधि पाउनेछन् । मतदाता नामावलीमा नाम भएका व्यक्तिले मतदाता परिचयपत्र नभएपनि मत हाल्न पाउने भएका छन् । मतादाता पत्र हराएमा वा नभेटिएमा नागरिकता, लाइसेन्स, लालपूर्जा वा फोटोसहितको सरकारी परिचयपत्रको आधारमा भोट हाल्न सकिने यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL