काठमाडौं । वाग्मती पेट्रोलियम डिलर्स एशोशिसयनले असार २० गतेबाट पेट्रोलियम हडतालको घोषणा गरेको छ । पटक पटक ध्यानाकर्षण गराउँदा पनि माग पुरा नभएको भन्दै आन्दोलन गर्ने निर्णय भएको वाग्मती पेट्रोलियम डिलर्स एशोशिसयनका अध्यक्ष अच्युतबहादुर खड्काले बताए ।
राजधानीको बानेश्वर व्याङकेटमा वाग्मती पेट्रोलियम डिलर्स एशोशिसयनको बृहत भेला तथा विरोध कार्यक्रम घोषण सभामा उनले यस्तो घोषणा गरेका हुन् ।
भेलामा वाग्मती सहित काभ्रेपलान्चोक, धादिङ लगायतको जिल्लाको पेट्रोलियम डिलर्स एशोशिसयन समेत सहभागी रहेको थियो । असार २० गतेसम्म सरकारको निर्णय पर्खने र असार २० गतेसम्म माग पूरा नभए पहिलो चरणमा पेट्रोल आपूर्ति नगर्ने र यदि त्यसो गर्दा पनि माग पूरा नभए त्यसको तीन दिनपछि नै सबै पेट्रोलियम पदार्थ रोकेर हड्ताल गर्ने खड्कले बताए ।
वाग्मती पेट्रोलियम डिलर्स एशोशिसयन, नाप तौल तथा गुणस्तर विभाग, नेपाल आयल निगम लगायको संघसंस्थाले यसअघि नै पेट्रोलियम कारोवार गर्दा तेल नपुगेको प्रमाणित गरेका थिए ।
सरकारी निकायहरुको रोहवरमा पटक पटक गरिएको परिक्षणमा प्रति ४ हजार लिटर ल्याउँदा पेट्रोल ९९ र डिजेल ४८ लिटरसम्म अपुग रहेको देखिएको थियो । पेट्रोलियम पदार्थको कारोवार गर्दा पेट्रोल र डिलेजमा धेरै लस भएको कारण व्यवसाय नै बन्द गरेर हड्ताल गर्नु परेको खड्को भनाई छ ।
सरकारले आफ्नो मागलाई गभ्भीरता पूर्वक नलिएको भन्दै हड्तालको घोषणा गर्न आफूहरु वाध्य भएको व्यवसायीहरुले बताएका छन् । वाग्मती पेट्रोलियम डिलर्स एशोशिसयनको आन्दोलन घोषणा कार्यक्रमा पेट्रोलियम डिलर्स एशोशिसयनका अध्यक्ष लिलेन्द्र प्रधान, महासचिव विश्व अर्याल लगायतका केन्द्रीय पदाधिकारीहरुले समेत सहयोग र समर्थन रहने बताएका छन् ।