Logo

आईएमई बन्यो राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमती पाउने पहिलो कम्पनी

आईएमई बन्यो राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमती पाउने पहिलो कम्पनी


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आईएमई डिजिटल सोलुसन लिमिटेडलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्ने अनुमति प्राप्त गरेको हो । यससँगै आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक  भएको कम्पनीको दाबी छ ।

आईएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ । यसको मदतबाट सेवाग्राही आफैले वा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत बिभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।

आईएमई डिजिटलको चाँडै नै आईएमई पे सेवालाई सञ्चालनमा ल्याउने योजना रहेको राखेको छ ।

यसले सेवाग्राहीलाई दर्ता गर्ने, मोबाइल मार्फत तत्कालै पैसा पठाउने र प्राप्त गर्ने, बिलहरूको भुक्तानी गर्ने, रकम ट्रान्सफर गर्ने, विद्यालय र कलेजका शुल्कहरू भुक्तानी गर्ने देखि लिएर अनलाइन भन्दा बाहिर (अफसाइट) रहेका रेस्टुरेन्टहरू, ग्रोसरीरडिपार्टमेन्ट स्टोरहरूका साथै साना(ठूला खुद्रा पसलहरूमा अफलाइन नै भुक्तानी गर्ने सम्मका विविध भुक्तानी सेवाहरू प्रदान गर्नेछ ।

नेपाल राष्ट्र बैंकबाट यस कम्पनीले व्यावसायिक रूपमा कार्य गर्ने अनुमतिपत्र प्राप्त गरेको सन्दर्भमा आईएमई समूहका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशका हरेक कुना काप्चामा रहेका नेपालीलाई आईएमई पे को सेवा उपलब्ध गराउने लक्ष्य राखेको बताए । उनले आईएमईको व्यापक सञ्जाल अन्तर्गत रहेका विद्यमान ६ हजार भन्दा बढी रेमिटेन्स एजेन्टहरू, आईएमई समूह अन्तर्गतका २ हजार भन्दा बढी बिक्री केन्द्रहरूका साथै सञ्जालभन्दा बाहिर रहेका हजारौँ आउटलेटहरू मार्फत् सेवा उपलब्ध गराउने जानकारी दिएका हुन् ।

आईएमई डिजिटलले अन्तरराष्ट्रिय स्तरको सिस्टम आर्किटेक्चरमा आधारित गुणस्तरीय वालेट प्ल्याटफर्म विकास गरिसकेको छ । यसमा देशव्यापी मोबाइल मनी अपरेसनका लागि आवश्यक सहजताका साथै अत्यन्त सुरक्षित रूपमा कारोबार गर्न सकिने व्यवस्था गरिएको छ । आईएमई समूहका प्रबन्ध निर्देशक हेमराज ढकालले साथमा पैसा बोक्न नपर्ने (क्यासलेस) समाज निर्माण गर्ने हाम्रो उद्देश्यर यात्रा तर्फको यो पहिलो कदम भएको बताए ।

प्रतिक्रिया दिनुहोस्