Logo

आजदेखि सवारी चालक अनुमति बितरणमा रोक

आजदेखि सवारी चालक अनुमति बितरणमा रोक


बिजखबर संवाददाता
135
Shares

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणमा रोक लगाउने भएको छ । लाइसेन्स बितरण प्रक्रियालाई नयाँ प्रणालीमा लैजानका लागि पूर्व तयारी तथा कर्मचारी अभावको कारण देखाउँदै विभागले तत्कालका लागि बितरण कार्य बन्द गरेको हो ।

मंगलबारदेखि स्थानीय तहको निर्वाचन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको फारम संकलन तथा प्रयोगात्मक परीक्षा लिन बन्द गरिएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए । ‘विभागका कर्मचारी तथा ट्राफिक प्रहरी सबै निर्वाचनमा खटिएका छन्,’ उनले भने, ‘फारम संकलन तथा ट्रायल परीक्षाका लागि फिल्डमा खटिने कर्मचारी नभएका कारण बन्द गर्नु परेको हो ।’

पाण्डेका अनुसार कम्तिमा पनि दोस्रो चरणको निर्वाचन अर्थात असार १४ गतेसम्मका लागि लाइसेन्स बितरण प्रक्रिया बन्द हुनेछ । निर्वाचन सम्पन्न भएपछि मात्र लाइसेन्स बितरण प्रक्रिया खुला गरिने छ ।

१४ वटै अञ्चलबाट स्मार्ट कार्ड बितरण

विभागले चालू आर्थिक बर्ष भित्र १४ वटै अञ्चल यातायात कार्यालयबाट सवारी चालक अनुमति पत्रको स्मार्ट कार्ड वितरण गर्ने भएको छ । हाल बागमतीबाट मात्रै स्मार्ट कार्ड बितरण हुँदै आएकोमा आगामी दिनमा चालू आब भित्र देशभर बाटै स्मार्टकार्ड बितरण गरिने पाण्डेले जानकारी दिए । देशभर स्मार्ट कार्ड कार्यान्वयनमा आएसँगै नक्कली सवारी चालक अनुमति पत्रको कारोबारमा रोक लाग्ने विभागको तर्क छ ।

देशभर स्मार्टकार्ड कार्यान्यनमा ल्याउनका लागि तत्कालका लागि लाइसेन्स बितरण प्रणाली बन्द गर्नु परेको उनको तर्क थियो । ‘हाल विभागले ड्राइभिङ लाइसेन्स बितरण प्रणाली (डिएलआरए) अन्तरगत लाइसेन्स बितरण गर्दै आएको छ,’ उनले भने, ‘अब मौजुदा ब्यवस्था परिवर्तन गर्दै इलोक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सिस्टम (ईडिएलआरएस) कार्यान्वयमा ल्याउने छौं ।’

प्रतिक्रिया दिनुहोस्