काठमाडौं । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग आइतबार शिष्टाचार भेटवार्ता गरेको छ ।
परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको सो प्रतिनिधि मण्डलले अर्थव्यवस्थाका वर्तमान चुनौतिहरुको विश्लेषण गर्दै त्यसको समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गरेको छ ।
सो अवसरमा अध्यक्ष शर्माले विश्व अर्थतन्त्रमा संकुचन आएपनि नेपाली अर्थतन्त्रको वृद्धि आशावादी रहेकाले सरकारका अगाडि राम्रो अवसर भएको बताए ।
सो अवसरमा उनले सरकारद्वारा प्रारम्भ गरिएका राष्ट्रिय गौरवका आयोजनाहरु– पोखरा अन्तरराष्ट्रिय विमानस्थल, भैरहवा अन्तरराष्ट्रिय विमानस्थल, हेटौडा–निजगढ द्रूतमार्ग, माथिल्लो तामाकोशीलगायतको निर्माणलाई तिब्रता दिनु पर्ने बताए । साथै पूर्वाधार निर्माणको कुलगार्हस्थ उत्पादनको न्यूनतम् १० प्रतिशत रकम विनियोजन गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिए ।
ठोस रुपमा औद्योगिक विकासका लागि इण्डष्ट्रीयल क्लसटरको विकास गर्दै धरमराउँदो अवस्थामा रहेको निजी क्षेत्रलाई सबलीकरण गर्न नीतिगत सुधार गर्नु पर्ने तथ्य पनि अध्यक्ष शर्माले प्रधानमन्त्री देउवासमक्ष राखे ।
प्रधानमन्त्री देउवाले अर्थतन्त्रमा गतिशीलता रहेकाले सरकार निजी क्षेत्रलाई समेट्दै दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने दिशामा प्रयासरत रहेको जानकारी दिए ।
साथै उदार आर्थिक नीति र लगानी वृद्धिमार्फत राष्ट्रिय लक्ष्यअनुरुप दीगो र समावेशी आर्थिक वृद्धिदर हासिल गर्न सरकार गम्भीर रहेको बताए ।