Logo

एनआरएन थाइल्याण्डको ३५ लाखको नागरिक छात्रवृत्ति कोष

एनआरएन थाइल्याण्डको ३५ लाखको नागरिक छात्रवृत्ति कोष


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गैर–आवासीय नेपाली संघ–थाइल्याण्डले नागरिक छात्रवृत्ति कोष र प्राविधिक दक्ष विद्यार्थीका लागि अन्तरराष्ट्रिय महासंघ ९आइएएसटीइ० को घोषणा गरेको छ ।

बुधबार एक कार्यक्रमबीच एनआरएनए –थाइल्याण्डका अध्यक्ष खगेन्द्रराज ढकालले उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठको उपस्थितिमा उक्त कोषका लागि ३५ लाख ८९ हजार बराबरको चेक नागरिक अभियान नामक संस्थालाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मन्त्री श्रेष्ठले उक्त कोषले नेपाली विद्यार्थीहरूको शिक्षामा अवसर र प्राविधिक दक्षतामा मद्दत गर्ने बताए ।

अक्षय कोषले लामो समयसम्म पिछडिएका बालबालिकाहरूलाई सहयोग र नागरिक अभियान संस्थाले यसलाई सञ्चालन गर्नेछ । यस कोषले प्रत्येक वर्ष ८० जना नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्छ । जसमा पहिलो पाँच वर्षका लागि भूकम्प प्रभावित विद्यार्थीहरूलाई प्राथमिकता दिइने बताएको छ ।

यससँगै कार्यक्रममा आइएइएसटीइको पनि उद्घाटन गरिएको थियो । आइएइएसटीइ विगत ७० वर्षदेखि अन्तर्राष्ट्रिय रूपमा गैरनाफामूलक ढंगले ८८ भन्दा बढी देशहरूमा सञ्चालित छ । आइएइएसटीइले विज्ञान, इन्जिनियरिङ, प्रविधि र एप्लाइड आर्टस् विषयमा कोर्षको समापनमा ट्रेनिसिप छात्रवृत्ति प्रदान गर्छ ।

यस कार्यक्रमपछि २३ देशका ३० विभिन्न विश्वविद्यालयका ४० जना आइएइएसटीइका इन्जिनियरिङ स्वयंसेवकहरू गोरखाको लाप्राकमा जाँदै छन् । त्यहाँ गैर–आवासीय नेपाली महासंघले भूकम्पपीडितका लागि ५७३ वटा घर बनाउने बताएको छ । स्वयंसेवीहरू नेपाललगायत अस्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानाडा, फिनल्याण्ड, ग्रीस, भारत, इरान, आयरल्याण्ड, लेबनान, नर्वे, पोल्याण्ड, स्लोभाकिया, स्पेन, स्वीडेन, स्वीजरल्याण्ड, नेदरल्याण्ड, टर्की र बेलायतका रहेका बताएको छ ।

त्यसैगरी नेपालका लागि थाइ राजदूत भाकवत तान्सकुलले नेपालको पुनर्निर्माण र शिक्षामा सहयोगको प्रतिबद्धता जनाएका थिए ।
गैर–आवासीय नेपाली महासंघका अध्यक्ष शेष घलेले आफ्नो थाइल्याण्ड च्याप्टरलाई यस कार्यका लागि बधाइ दिँदै लाप्राकमा पुनर्निर्माणका क्रममा ५७३ घर बनाइँदै गरेको कार्यबारे जानकारी गराए ।

त्यसैगरी, कार्यक्रममा ट्रेकिङ एजेन्सी महासंघ नेपालले गैर–आवासीय नेपाली संघ–थाइल्याण्डका उपाध्यक्ष महेन्द्र श्रेष्ठलाई सद्भावना राजदूत घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्