काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यहरुको सूचीमा चार स्थान माथि उक्लिएका छन् । घले दम्पत्ति यो वर्ष अष्ट्रेलियाका धनाढ्यहरुको सूचीमा १०१ स्थानमा उक्लिएका हुन् । सन् २०१६ मा सूचीको १०५ औं स्थानमा थिए ।
अघिल्लो वर्ष उनीहरुको कुल सम्पत्ति ५८ करोड ६० लाख डलर रहेकोमा यो वर्ष ६४ करोड ७० लाख डलर पुगेको फाइनान्सियल रिभ्यू म्यागेजिनले जानकारी दिएको छ । धनाढ्यहरुको सूची निकाल्ने सो म्यागाजिनका अनुसार उनीहरुले झण्डै १० प्रतिशत सम्पत्ती बृद्धि गरेका हुन् ।
म्यागेजिनले बिहीबार सन् २०१७ का धनाढ्यहरुको सूची प्रकाशन गरेको थियो । घले दम्पत्तिले एमआइटी ग्रुप होल्डिङमार्फत् शिक्षा र रियलस्टेट क्षेत्रमा लगानी गरिरहेका छन् । उनीहरुले संयुक्त रुपमा स्थापना गरेको मेलवर्न इन्स्टिच्यूट अफ टेक्नोलोजीमा बिभिन्न देशका करिव ३ हजार ५ सय विदेशी विद्यार्थी अध्ययनरत छन् ।
यसैगरी एमआइटी होल्डिङमार्फत् उनीहरुले रियल स्टेट तथा होटलमा लगानी गरिरहेका छन् । घले दम्पत्तीले काठमाण्डौमा शेराटन होटल निर्माण गरिरहेको छ । जसको लागत झण्डै १२ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।