Logo

स्मार्ट लाइसन्समा कसको बदमासी ?, ५ बर्षे कार्ड ५ दिनमै बिग्रियो

स्मार्ट लाइसन्समा कसको बदमासी ?, ५ बर्षे कार्ड ५ दिनमै बिग्रियो


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । प्रविधिको उपयोग गरिएको स्मार्ट सवारी चालक हात पर्दा चालक भिम बहादुर राई जति खुसि थिए त्यो एक हप्ता पनि टिकेन । पानीले नभिज्ने, नच्यातिने तथा पाँच वर्षसम्म केही नहुने भनेर लिएको सवारीसाधनको स्मार्ट लाइसेन्स लिएको पाँच दिन नबित्दै काम नलाग्ने भयो । कार्डमा सवारी चालकको सम्पूर्ण विवरण एकै ठाउँमा हुने र यसलाई मेशिनबाट हेर्न सक्ने बनाइए पनि लिएको केहि दिनमै कार्ड एकातिर र चिप्स अर्कोतिर भएपछि राईले अलमलमा छन् ।

यातायात विभागमा राईले महिनौ कुरेर लिएको स्मार्ट लाईसेन्स (सवारीसाधन चालक अनुमतिपत्र ) अहिले काम नलाग्ने अवस्थामा छ । ‘स्मार्ट कार्डको त्यो चिप्स जोगाउन छुट्टै प्लाष्टिकमा राखेको छु ’ उनले आफ्नो बाध्यता बताए । राईजस्तै चिप्स नै फुस्किएर हराएको गुनासो धेरैको छ । दुई महिना अघि पुरानो लाइसेन्स परिवर्तन गरी स्मार्ट कार्ड लिएका शिव गिरी यस्तै अर्का उदाहरण हुन् । चिप्स फुस्किएर काम नलाग्ने भएको उनले बताए ।

यातायात व्यवस्था विभागले करोडौं रकम खर्च गरेर स्मार्ट कार्ड कार्यान्वयनमा ल्याएको हो । विभागले सेवाग्राहीसँग पनि स्मार्टकार्डलाई बढी रकम लाग्ने भन्दै साविकको शुल्कमा दोब्बर वृद्धि गरेको थियो । तर, कार्डको गुणस्तर परीक्षण नगरी कार्यान्वयनमा ल्याउँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । सेवाग्राहीलाई कम्तीमा पाँच बर्षसम्म प्रयोग गर्न मिल्ने गरी कार्ड तयार गरिएको भनिएपनि छिटो बिग्रने समस्याले कार्ड खरिद बिक्रिमा अनियमितताको आशङ्का पनि थपिन थालेको छ ।

पहिला वितरण गरिएका धेरै जसो स्मार्ट लाइसेन्समा चिप्स फुस्कने समस्या आएको यातायात व्यवस्था विभागकै स्विकारोक्ति छ । पहिले गुणस्तर नै जाँच नगरी स्मार्ट कार्ड ल्याइएको हुँदा चिप्स फुस्कने समस्या देखिएको विभागका एक कर्मचारी बताउँछन् ।

यसभन्दा अघि कार्यान्वयनमा ल्याएको स्मार्टकार्डमा समस्या देखिएकाले पछिल्लो समय परीक्षण गरेर मात्र कार्यान्वयनमा ल्याउन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईको दाबी छ । ‘यस अघि कार्यान्वयनमा आएका धेरैजसो कार्डमा समस्या आयो,’ उनले भने, ‘अबको दिनमा त्यस्ता समस्या नदोहोरियोस भनेर परीक्षणका लागि यूरोप पठाएका छौं ।’

उनका अनुसार विभागले कार्डको गुणस्तर परीक्षण गर्नका लागि नेदरल्याण्ड पठाएको छ । परीक्षणका क्रममा गुणस्तरहित भेटिएमा त्यस्ता कार्डलाई सम्बन्धित निर्माता कम्पनीलाई नै फिर्ता पठाइने उनले जानकारी दिए । ‘यस अघि कसरी स्मार्ट कार्ड वितरण गरिएको थियो थाहा भएन,’ उनले भने, ‘कार्डको गुणस्तरमा गुनासो आएकाले म आएपछि परीक्षण गर्न नेदरल्याण्ड पठाएका छौं ।’ पहिलो चरणमा परीक्षणमा पठाएको कार्ड जाँच भएर एक दुई दिन भित्रमै आइपुग्ने उनले जनकारी दिए । अबका दिनमा अन्तरराष्ट्रिय स्तरमा परीक्षण गर्दा ठिक देखिएमा मात्र वितरण गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL