काठमाडौं । सरकारले सोमवार र शुक्रवार सार्वजनिक विदा दिने भएको छ । राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाने तथा आउने भन्दै आइतबार बसेको मन्त्रिपरिषद बैठकले सोमबार विदा दिने निर्णय गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार भारतको औपचारिक भ्रमणमा जाँदैछिन् । भण्डारी राष्ट्रपति भएपछि यो पहिलो विदेश भ्रमण हो ।
त्यस्तै बैठकले उनको भारत भ्रमणको तालिका स्वीकृत समेत गरेको छ ।
राष्ट्रपति भण्डारीले भारत बसाईको क्रममा समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग शिष्टाचार भेट गर्नेछिन् ।
यसअघि राष्ट्रपति भण्डारीको औपचारिक निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जीले गत कात्तिक २७ देखि २९ गतेसम्म नेपालको भ्रमण गरेका थिए ।