Logo

१४ नयाँ बीमा कम्पनीले लाइसेन्स पाउँदै, निर्जीबन भन्दा जीबन बीमाको धेरै

१४ नयाँ बीमा कम्पनीले लाइसेन्स पाउँदै, निर्जीबन भन्दा जीबन बीमाको धेरै


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । बीमा समितिले नयाँ कम्पनीलाई लाइसेन्स दिने भएको छ । लामो समयदेखि पाइपलाइनमा रहेका कम्पनीहरुलाई संचालनका लागि बीमा समितिले नयाँ लाइसेन्स दिन लागेको हो ।

नयाँ कम्पनीलाई संचालन लाइसेन्स दिने सम्बन्धमा बुधबार बसेको बैठकमा छलफल भएको र आइतबार यस विषयमा पूर्ण रुपमा टुङ्गो लाग्ने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बिजखबरलाई बताए । ‘बीमा समितिमा ६/७ वर्षदेखि लाइसेन्सको माग गर्दै दजनौं कम्पनी आवेदन दिएर बसेका छन्,’ उनले भने, ‘त्यस्ता कम्पनीलाई अन्तिम मौका स्वरुप नयाँ लाइसेन्स दिन लागेका हौं ।’

चापागाईका अनुसार समितिमा १४ वटा कम्पनीले नयाँ लाइसेन्सको माग गर्दै आवेदन दिएका छन् । जसमा जीबन बीमातर्फ ८/९ वटा र निर्जीबन बीमातर्फ ५ वटा कम्पनी रहेको उनले जानकारी दिए । २०६६ सालदेखि कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएर नयाँ लाइसेन्सको लागि समितिमा निवेदन दिएका कम्पनीहरु रहेका छन् । ती कम्पनीलाई आवश्यक कागजात पुर्याएको अवस्थामा अन्तिम मौका स्वरुप लाइसेन्स दिन लागिएको चापागाई बताउँछन् । नयाँ लाइसेन्स माग गर्नेमा पनि निर्जीबनभन्दा जीवन बीमा कम्पनीको संख्या धेरै रहेको छ ।

चापाइगाईका अनुसार नयाँ कम्पनीलाई लाइसेन्स दिने निर्णयसँगै नेपालमा बीमाको अवस्थाबारे एक अध्ययन समेत गरिने भएको छ । ‘हामीले तत्काल कतिवटा कम्पनीलाई लाईसेन्स दिन्छौं भन्दा पनि नेपालमा यसको आवश्यकताको वारेमा पनि विस्तृत रुपमा अध्ययन गर्नेछौं,’ उनले भने ।

समितिका अनुसार नयाँ लाइसेन्स लिन आवेदन दिएका कम्पनीलाई कम्पनीलाई सो सम्बन्धमा पत्राचार गर्ने तयारी भएको छ । समितिले नयाँ लाइसेन्स लिनका लागि आवेदन दिएर बसेका कम्पनीलाई आवश्यक कागजात तथा अन्य प्रक्रिया पूरा गर्न आइतबारको छलफलपछि पत्राचार गर्ने भएको छ । साथै कतिदिनको समयसीमा दिएर नयाँ लाइसेन्स आब्हान गर्ने विषय पनि आइतबार नै टुङ्गो लाग्ने चापाइगाइले जानकारी दिए ।

नेपालमा जीबन र निर्जीबन बीमा कम्पनी गरी २६ वटा संचालनमा छन् । जसमा जीबन तर्फ १७ र निर्जीबन बीमातर्फ ९ वटा कम्पनी संचालनमा छन् । हाल नेपालको कुल जनसंख्याको ८ देखि ९ प्रतिशत जनतालाई मात्र बीमाले समेटेको छ । नेपालमा थप नयाँ बीमा कम्पनी आएसँगै बीमाको क्षेत्र समेत बढ्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । यदि १४ वटा नयाँ कम्पनीले लाइसेन्स पाएमा नेपालमा बीमा कम्पनीको संख्या बढेर ४० पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL