काठमाडौं । चालु आर्थिक बर्षको आठ महिनासम्ममा नेपालको निर्यात १२ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा रु. ४८ अर्ब २२ करोड बराबरको वस्तु नेपालबाट निर्यात भएको नेपाल राष्ट्र बैंकको हालै सार्वजनिक तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २४ दशमलव ९ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा भारततर्फ १६ दशमलव ३ प्रतिशत, चीनतर्फ १३ दशमलव ४ प्रतिशत र अन्य मुलुकतर्फ ८ दशमलव २ प्रतिशतले निर्यात बढेको छ ।
विशेषगरी वस्तुगत आधारमा जुस, पिना, रोजिन, चाउचाउ, तार लगायतका वस्तुको निर्यातमा बृद्धि हुँदा नेपालको समग्र निर्यातमा बढेको हो । यता नेपालबाट धेरै निर्यात हुने अन्य अलँैची, पोलिष्टर धागो, तयारी पोशाक, उनी गलैचा लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
त्यसैगरी समीक्षा अवधिमा कुल वस्तु आयातमा पनि बृद्धि भएको छ । कुल आयात ४४ दशमलव २ प्रतिशतले बढी रु. ६ खर्व २८ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ दशमलव ९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात ५९ प्रतिशत,चीनबाट भएको आयात १७ दशमलव ५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६ दशमलव २ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, एमएस विलेट, अन्य मेशिनरी तथा पार्टपुर्जा, सिमेन्ट, लगायतका वस्तुको आयात बढेको छ । यता रासायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, कच्चा रेशम, तयारी पोशाक लगायतका वस्तुहरुको आयात घटेको छ । भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाह भन्सार, विराटनगर भन्सार र जलेश्वर भन्सार नाकाबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ ।
त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा कैलाली भन्सार र भैरहवा भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ४७ दशमलव ६ प्रतिशतले बढी रु. ५ खर्व ८० अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १२ दशमलव .५ प्रतिशतले घटेकोे थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७ दशमलव ७ प्रतिशत रहेको छ ।