Logo

सरकारले शुरु गर्यो सिएसआर कार्यन्वयन, सिमेन्ट विक्रीबाट प्राप्त केही रकम विपन्न वर्गलाई

सरकारले शुरु गर्यो सिएसआर कार्यन्वयन, सिमेन्ट विक्रीबाट प्राप्त केही रकम विपन्न वर्गलाई


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । औद्योगिक व्यवसाय ऐन २०७३ मा गरिएको संस्थागत सामाजिक उत्तरदायित्व सम्वन्धी व्यवस्थालाई सरकारले आफुबाटै कार्यान्वयन गर्न शुरु गरेको छ । यसका लागि उद्योग मन्त्रालयले हेटौडा र उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टको विक्रीबाट प्राप्त रकम मध्ये प्रति वोरा १ रुपैयाँ ५० पैसादेखि २ रुपैंयाका दरले हुन आउने रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तगत खर्च गर्न प्रकृया अगाडी बढाएको छ ।

उद्योग मन्त्रालयमा शुक्रवार एक कार्यक्रममा उद्योग मन्त्री नवीन्द्रराज जोशीले हेटौंडा र उदयपुरबाट उत्पादित सिमेन्टमा सिएसआरमा रकम छुट्याउने व्यवस्था गर्न लागेको बताएका हुन् । उनका अनुसार आगामी बैशाख ३ गतेबाट सो कार्यन्वयनमा आउने छ ।

यसरी संकलन गरिएको रकम विपन्न वर्गका बालबालिकाहरुको स्वास्थ्य, शिक्षा र पोषणमा खर्च गरिने जानकारी उद्योग मन्त्री नवीन्द्रराज जोशीले बताए । सरकारले हालै ल्याएको औद्योगिक व्यवसाय ऐन २०७३ को दफा ४८ मा मझौला वा ठूला उद्योग अथवा बार्षिक १५ करोड रुपैंया भन्दा बढि कारोबार गर्ने घरेलु तथा साना उद्योगले बार्षिक मूनाफाको कम्तीमा १ प्रतिशत रकम व्यवसायिक सामाजिक जिम्मेवारी गर्ने प्रयोजनमा खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ ।

छलफलमा सहभागीहरुले यस प्रकारको सहयोगहरुलाई एउटै बास्केटमा राखेर आवश्यक क्षेत्रमा खर्च गर्न सके त्यसले सहयोगको प्रभावकारीता देखिने बताए । छलफलमा नीजि क्षेत्रका प्रतिनिधिहरुले व्यवसायिक सामाजिक जिम्मेवारी अन्तरगत आफ्नो मूनाफाको केही अंश सिएसआरमा खर्च गर्न तयार रहेको बताए । साथै त्यस प्रकारको सहयोगलाई खर्च लेख्न पाउने व्यवस्था हुन सके अझ प्रभावकारी रुपमा सहयोग जुट्ने जानकारी दिए ।

छलफलमा उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोईरालाले ऐनमा भएको व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्रालयले सम्वन्धित निकायहरु सँग समन्वय गरी कार्यान्वयन गरिने बताए ।

छलफलमा युनिसेफ र आइएलओका प्रतिनिधिले अन्तराष्ट्रिय रुपमै बालबालिकाका क्षेत्रमा संस्थागत क्षेत्रको लगानी ठुलो रहको भन्दै नेपालका सन्दर्भमा उद्योग मन्त्रालयले शुरु गरेको यो अभियानले विपन्न क्षेत्रमा रहेका बालबालिकाहरुको स्वास्थ्य, शिक्षा र पोषणमा महत्वपूर्ण योगदान पुग्ने बताएक थिए ।

प्रतिक्रिया दिनुहोस्