काठमाडौं । समृद्ध सिन्धुली अभियानका अभियन्ताहरुले सिन्धुलीगढीलाई संरक्षण र विकासको काम गर्न सरकारी स्तरबाट विकास समितिजस्तै स्वायत्त निकाय गठन गर्न आग्रह गरेका छन् । पर्यटन राज्यमन्त्री परशुराम तामाङसँगको भेटमा उनीहरुले तत्कालीन ब्रिटीस सेनालाई परास्त गरेको ऐतिहासिक स्थललाई स्वायत्त निकाय बनाउन आग्रह गरेका हुन् ।
उनीहरुले हरेक नेपालीले गौरव गर्नु पर्ने इतिहास बोकेको सिन्धुलीगढीको स्वामित्व लिने कुनै निकाय नहुँदा बेवारिसे जस्तै भएको गुनासो गरे ।
साथै सो स्थलको संरक्षण गर्न विकास स्वायत्त निकाय गठन आवश्यक भएको बताए । सिन्धुलीगढीको स्वामित्व लिने निकाय नहुँदा यसको संरक्षण तथा विकासको कुनै निकायले पहल गरेका छैनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उज्वल थापाको संयोजनमा समृद्ध सिन्धुली अभियानका लीलानाथ घिमिरे, सौरभ ढकाल, डण्ड गुरुङ र भुवन थापा सम्मिलित प्रतिनिधि मण्डलले राज्यमन्त्री तामाङसँग सिन्धुलीगढीको पर्यटकीय विकासका लागि आगामी बजेटमा कार्यक्रमहरु समावेश गर्न आग्रहसमेत गरेको छ ।
यस्तै अंग्रेजी सेनालाई परास्त गरेको दिनको सम्झनामा आगामी कात्तिक २४ गते मनाइने २ सय ५० औं विजयोत्सवमा राज्यकै तर्फबाट विशेष समारोहको आयोजना गर्ने ब्यवस्था मिलाउन पर्यटन राज्यमन्त्री तामाङसँग आग्रह गरेको छ ।
सिन्धुलीगढीमा आगामी कात्तिक २४ गते मनाइने विजयोत्सवमा सहभागी गराउन काठमाडौंबाट २ सय ५० जना ब्यवसायिक साइकल यात्रीलाई लैजाने घोषणा यसअघि गरिसकेको छ । अभियानले ‘राइड टु सिन्धुली’ नाम दिइएको साइकल यात्राको दर्ता खुल्ला गरिसकेको छ । आगामी बर्ष सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुग्दैछ ।
‘राइड टु सिन्धुलीगढी’ लाई ब्रान्डिङ गरेर हरेक बर्ष ब्यवसायिक साइकलयात्रीलाई यस यात्रामा सहभागी गराउने अभियानका संयोजक लीलानाथ घिमिरेले बताए ।