Logo

यूरो-३ को गाडीलाई यूरो-४ को तेल, रोकिएला वातावरण प्रदुषण

यूरो-३ को गाडीलाई यूरो-४ को तेल, रोकिएला वातावरण प्रदुषण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले आजबाट यूरो—४ मापदण्डको पेट्रोलियम पदार्थ मात्र आयात गर्ने भएको छ । कम गुणस्तरको पेट्रोलियम पदार्थ आयात गर्दा वातावरण प्रदुषण गरेको भन्दै अबका दिनमा यूरो—४ मापदण्डको मात्र आयात गर्न लागिएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

आजबाट यूरो—४ मापदण्डभन्दा कमको पेट्रोलियम पदार्थ आयात नहुने निगमका प्रवक्ता सिताराम पोखरेलले जानकारी दिए । ‘कम गुणस्तरको पेट्रोलियम आयात गर्दा सवारीसाधन चाडै विग्रनुका साथै वातावरणमा समेत बढी प्रदुषण गरेको गुनासो आयो,’ उनले भने, ‘सोही अनुरुप निगमले शनिवारबाट लागू हुनेगरी यूरो—४ मापदण्डको मात्र आयात गर्ने निर्णय गरेको हो ।’

सरकारले नयाँ सवारी प्रदुणष मापदण्ड जारी गर्दै यूरो—३ मापदण्डभन्दा कमका सवारी साधन आयात गर्न नपाउने व्यवस्था गरिसेको छ । युरो—३ मापदण्डभन्दा माथीको सवारीसाधन र यूरो—४ मापदण्डको पेट्रोलियम पदार्थ राख्दा बातावरणीय प्रदुषण कम हनुे निगमको तर्क छ ।

सरकारले यस अघि भारतीय नाकाबन्दीको समयमा चीनबाट यूरो—४ मापदण्डको पेट्रोलियम पदार्थ ल्याएको थियो । निगमले केही समय अघि भारतसँग पेट्रोलियम आयात सम्बन्धी सम्झौता गर्दै अबका दिनमा यूरो—४ मापदण्डको मात्र आयात गर्ने निर्णय गरेको हो ।

यातायात व्यवसायीले भने नेपालमा आयात हुने पेट्रोलियम पदार्थको गुणस्तर एकदमै कमजोर भएको भन्दै गुणस्तरीय पेट्रोलियम पदार्थ आयात गर्न माग गर्दै आएका थिए । ३ वर्ष अघि सरकारले यूरो—३ मापदण्डको गाडी मात्र आयात गर्ने निर्णय गरेसँगै नेपाल अटोमोवाइल्स डिलर्स एशोसियशन (नाडा)ले सोही अनुरुपको पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने माग राख्दै आएको थियो ।

सरकारले ढिलै भएपनि यूरो—४ मापदण्डको पेट्रोलियम पदार्थ आयात गर्नु यातायत व्यवसायीको लागि स्वागत योग्य विषय भएको नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले बताए । ‘सरकारले वातावरण प्रदुषण मापदण्ड लागू गर्दा नै नाडाले सोही अनुरुपको पेट्रोलियम पदार्थ आयात गर्न माग गर्दै आएको थियो,’ उनले भने, ‘ पेट्रोलियम पदार्थ आयातमा गरेको नयाँ व्यवस्थाले वातावरण प्रदुषण न्युनिकरण गर्नुका साथै गाडीको आयु समेत लम्बिनेछ ।’ तर, अबका दिनमा पेट्रोलियम पदार्थमा हुने मिसावट रोक्नु पर्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
MBL