Logo

दक्षिण एसियाली महिला उद्यम सम्बन्धी पुस्तक प्रकाशन, मञ्च र इसिमोडबीच समझदारी

दक्षिण एसियाली महिला उद्यम सम्बन्धी पुस्तक प्रकाशन, मञ्च र इसिमोडबीच समझदारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दक्षिण एसियाली महिला विकास मञ्च (एसएडब्ल्यूडीएफ) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड)ले महिला उद्यमसँग सम्बन्धित पुस्तक प्रकाशन गर्ने भएको छ । उक्त संस्थाले विभिन्न १० मुलुकका नीतिको अध्ययन तथा संकलन गरेर पुस्तक प्रकाशन गर्न लागिएको हो ।

सो पुस्तक प्रकाशनका लागि मञ्च र इसिमोडबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । जसमा दक्षिण एसियाली राष्ट्र सहित १० मुलुकमा रहेको साना तथा मझौला महिला उद्यमी नीतिको अध्ययन गरेर पुस्तक प्रकाशित गरिने छ ।

अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा बुधवार मञ्चकी अध्यक्ष प्रमिला रिजाल आचर्य र इसिमोडका महानिर्देशक डेविड मोल्डेनले हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान, श्रीलंका, चीन र म्यानमारमा भएका महिला उद्यम सम्बन्धी नीतिको अध्ययन तथा विश्लेषण गरिने छ ।

ती मुलुकमा भएका नीतिहरुको तुलना समेत गरेर उत्कृष्ट नीति समेत छनौट गरिने मञ्चकी अध्यक्ष आचार्यले बताईन् । दक्षिण एसियाली महिला विकास मञ्चका सार्क मुलुकमा भएका उपाध्यक्ष र उनीहरुका संगठनले सम्बन्धित मुलुकको नीति भएको व्यवस्थाको अध्ययन तथा संकलन गर्ने छ ।
संकलित नीतिलाई इसिमोडले विश्लेषण गर्ने छ । अबको ४ देखि ५ महिनाभित्रमा पुस्तक प्रकाशित गरिने समेत उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्