काठमाडौं । गृह मन्त्रालयले फागु पूर्णिमा अर्काको इच्छा विपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहर छ्याप्ने नगर्न अनुरोध गरेको छ । मन्त्रालयले महिला, बालबालिकालगायत बाटामा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने कार्य नगर्न सबैसँग समेत आग्रह गरेको हो ।
मन्त्रालयको शुक्रबार जारी विज्ञप्तिमा त्यस्तो काम कोही कसैले नगर्न, नगराउन र वातावरण तथा जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने लोलाको आयात र बिक्री वितरण समेत नगर्न भनेको छ ।
मन्त्रालयको सूचना विपरीत कसैको स्वीकृति वा इच्छा बिना रङ दल्ने र लोला हान्ने काम गरेमा प्रचलित कानूनबमोजिम कारबाही हुने विज्ञप्तिमा उल्लेख छ । यस वर्ष पहाडमा फागुन २९ गते र तराइका जिल्लामा ३० गते फागुपूर्णिमा मनाइँदैछ ।