काठमाडौं । गर्भनर चिरञ्जिवी नेपालले विदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् । नेपालको नीति तथा कानुनका साथै नियमन प्रणाली पारदर्शी रहेको भन्दै विदेशी लगानीकर्तालाई लगानीका लागि आग्रह गरेका हुन् । त्यस्तै नेपालमा जलविद्युत, वित्तिय संस्था ,कृषिलगायत क्षेत्रमा ठूलो अवसर रहेको समेत बताए ।
गर्भनर नेपालले निजी क्षेत्रले प्राइभेट इक्विटी फन्ड चलाउन पाउने गरी नीतिगत व्यवस्थामा परिवर्तन गर्न लागिएको समेत जानकारी दिए । त्यस्तै उनले नेपालको पुँजी बजार अहिले नि विकासको क्रममा रहेको बताए ।
काठमाडौंमा जारी लगानी सम्मेलनको दोश्रो दिन शुक्रवार एक कार्यक्रममा उनले यस्तो बताए । सो अवसरमा नेपाल बैकर्स संघका अध्यक्ष अनिल शाहले अहिले विदेशी लगानीका लागि नेपालमा उचित वातावरण निर्माण भइसकेको र विशेषगरी वित्तीय क्षेत्रमा विदेशी लगानीकर्तालाई काम गर्नको लागि कुनै अड्चन नभएको बताए । त्यस्तै राजनितिक दलहरु पनि आर्थिक समृद्धिमा प्रतिवद्ध देखिएको अवस्थामा विदेशी तथा स्वदेशी लगानीकर्तावीच लगानीके प्रतिशपर्धा गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विजनेश अक्सिजनका कार्यकारी निर्देशक सिद्धान्तराज पाण्डेले सरकार तथा नियामक निकाय दुवै सकारात्मक परिवर्तनको पक्षमा रहेको जानकारी दिए । साथै उनले अहिले निजी क्षेत्रका व्यवसायीहरु सरकारसँगको सहकार्यमा लगानीके वातावरण बनाउन लागिपरेको बताए ।
छलफलमा डोल्मा डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत टिम गोचरले ठूला लगानीकर्ताले लगानी स्वीकृतिको प्रक्रिया लामो भएको सहन नसक्ने बताए । नेपालमा लगानी स्वीकृति झण्झटिलो भएकोभन्दै यसलाई छिटो र छरितो बनाउन समेत सुझाए । कानूनी अड्चनको कारण प्राइभेट इक्वुटी फन्ड मार्फत काम गर्न नसकिएको बताए ।