Logo

भारतीय अर्थमन्त्री भन्छन्, लगानीका लागि नेपाल उपयुक्त गन्तव्य हो, पूर्वाधार विकासमा लाग्न आग्रह

भारतीय अर्थमन्त्री भन्छन्, लगानीका लागि नेपाल उपयुक्त गन्तव्य हो, पूर्वाधार विकासमा लाग्न आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतीय अर्थ मन्त्री अरुण जेट्लीले नेपालमा लगानी गर्नका लागि उपयुक्त समय भएको बताएका छन् । बृहत आर्थिक सम्भावना बोकेको नेपालमा वैदेशिक लगानी भित्र्याउने राम्रो अवसर भएको उनको तर्क थियो ।

‘नेपाल लगानी सम्मेलन’लाई विशेष सम्बोधन गर्दै उनले भारतले नेपाललाई आर्थिक रुपमा सबल देख्न चाहेको समेत बताए । ‘नेपालमा रहेका प्राकृतिक स्रोतलाई परिचालन गरेर मुलुकको आर्थिक विकासमा अघि बढाउन सक्ने प्रशस्त सम्भावना छ,’ उनले भने, ‘जलविद्युत, कृषि, पर्यटन, सिचाईँजस्ता क्षेत्रमा लगानीका लागि ठूलो अवसर छ ।’

हाल नेपाल र भारतले ऊर्जा, प्रसारण लाइन, सिँचाई क्षेत्रमा सहकार्य गरिरहेको उल्लेख गर्दै आगामी दिनमा यसलाई थप विस्तार गरिनुपर्ने उनको भनाइ थियो । नेपाल र भारत संस्कृति तथा धार्मिक पर्यटनको क्षेत्रमा समेत लगानीको सम्भावना रहेको जेट्लीले जानकारी दिए ।

मेडिकल तथा इन्जीनियरिङजस्ता शैक्षिक क्षेत्रमा नेपाल र भारतका लगानीकर्ताबीच सहकार्य गरेर अगाडि बढ्न सकिने जानकारी दिँदैे आगामी दिनमा लगानीका सम्भावित क्षेत्रमा सहकार्य गर्नुपर्ने बताए । लगानीको अवसर सिर्जना गर्न उद्योगलाई सहजरुपमा भित्रिन र बाहिर सक्ने वातावरण बनाउनुपर्ने भन्दै लगानीका लागि नीतिगत अवस्थामा सुधार गरी पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । लगानी विस्तार गर्नका लागि राज्यले दूरगामी कर नीतिलाई ध्यान दिन समेत उनको सुझाव थियो ।

नेपाल र भारतबीच महमहत्वपूर्ण सम्बन्ध रहेको बताउँदै दुई देशबीचको व्यापारिक, सांस्कृतिक एवम् जनस्तरको सम्बन्ध रहेको उल्लेख गरे । नेपाल र भारतको सम्बन्ध आर्थिक मात्र नभइ विविध क्षेत्रसँग गाँसिएको उनको कथन थियोे ।

लगानी सम्मेलनले लगानी विस्तार गर्ने उल्लेख गर्दै ठूलो लगानी भित्र्दा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने उनको तर्क थियो । साथैे पूर्वाधार विकासलाई अगाडि बढाएर लगानीलाई आकर्षित गर्न समेत उनको सुझाव थियो ।

प्रतिक्रिया दिनुहोस्