काठमाडौं । लघु उद्यमलाई संस्थागत गर्नु आवश्यक भएको सरोकारबालाहरुले बताएका छन् । जिल्ला जिल्लामा लघु उद्योग ग्राम स्थापना गरेर यसलाई संस्थागत गर्नुपर्ने बताएका हुन् । बिहीवार देखि शुरु भएको २८ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रदर्शनी र उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रममा यस्तो बताएका हुन ।
सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले लघु उद्यममा पुस्ता हस्तान्तरण आवश्यक भएको बताए । ‘उचित प्रतिफल तथा आम्दानीको स्पष्टता नभएकोले यसमा नयाँ पुस्ताको आकर्षण छैन’ । सरकारले घरेलु उद्योगमा युवाहरुको आकर्षण गर्न कार्यक्रम ल्याउनुपर्ने उनले बताए ।
कार्यक्रममा राष्ट्रिय लघु उद्यमी महासंघका अध्यक्ष लाक्पा शेर्पाले आर्थिक क्रान्तीका लागि लघु उद्योगको विकाश आवश्यक भएको बताए । साथै यस क्षेत्रलाई लक्षित गर्दै बार्षिक बजेट विनियोजन गर्न सरकार समक्ष आग्रह गरे । शेर्पाले यस्ता उद्योगहरुलाई सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउन समेत आग्रह गरे ।
कार्यक्रममा गृहमन्त्री विमलेन्द्र निधीले यस्ता उद्योगले ठूलो संख्यामा रोजगारी सिर्जना गरेको भन्दै यसको प्रवद्र्धन आवश्यक भएको बताए । साथै मेललाले लघु उद्यमीका कला तथा सिपको उजागर गर्ने समेत जानकारी दिए ।
उद्योग सचिव शंकर कोइरालाले औद्योगिक व्यवसायी एन २०७३ ले लघु तथा साना उद्योगलाई समेटेको बताए । ‘ पहिला लघु उद्योगहरु दर्ता नहुँदा व्यवसाय विस्तारका लागि वित्तीय संस्थासँग पहुँच पुर्याउन नसक्ने अवस्था थियो’ उनले भने ‘अहिले उद्यमीहरुलाई सहज छ ।’
काठमाडौंको भृकुटीमण्डपमा जारी मेलामा अल्लो, हाते कागज,फेलट तथा पश्मिना, छालाजन्य उत्पादनलगायत प्रदर्शनीमा राखिएको छ । मेला ६ दिनसम्म चल्ने छ । मेलाको ३ लाख दशकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेलाको घरेलु विकास समितिले आयोजना गरेको हो ।