काठमाडौं । चालु आर्थिक बर्षमा मूल्य बृद्धिदर ३ दशमलव २ प्रतिशतमा ओरालो लागेको छ । अघिल्लो आवको पुस महिनामा १२ दशमलव १ प्रतिशत पुगेको मूल्यवृद्धिदर अहिले ३ दशमलव २ मा सिमित भएको हो ।
गत वर्षको आधार मूल्य प्रभाव, आपूर्ति व्यवस्थामा सुधार र भारतमा उपभोक्ता मुद्रास्फीतिदर घट्दै गएकोले पछिल्ला महिनाहरुमा उपभोक्ता मुद्रास्फीति निरन्तर घट्दै गएको हो । सो अवधिमा खाद्य मुद्रास्फीति ० दशमलव ७ प्रतिशतले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति
१५ दशमलव २ प्रतिशत रहेको थियो ।
यस समूह अन्तर्गतको घ्यू तथा तेलको मूल्यमा १३ दशमलव ९ प्रतिशत, दलहन तथा गेडागुडीको मूल्यमा ६.६ प्रतिशत, तरकारीको मूल्यमा ३ दशमलव ९
प्रतिशतले कमी आएको छ ।
त्यस्तै फलफूलको मूल्यमा २ दशमलव ० प्रतिशत, मासु तथा माछाको मूल्यमा १ दशमलव ७ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा १ दशमलव २ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति ऋणात्मक रहन गएको हो । समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १५ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य ११.२ प्रतिशतले वृद्धि भएको छ ।