Logo

एपीबीएफको सभामा वाणिज्य मन्त्री गौचनको सम्बोधन, विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

एपीबीएफको सभामा वाणिज्य मन्त्री गौचनको सम्बोधन, विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार बंगलादेशको राजधानी ढाकामा सम्पन्न एसिया प्रशान्त व्यवसायिक मञ्च (एपीबीएफ) को खुला सत्रलाई वाणिज्य मन्त्री रोमी गौचनले सम्बोधन गरेका छन् । बिहीवार मञ्चको दोस्रो दिनको बैठकमा विशेष वक्ताका रुपमा मन्त्री थकालीले सम्बोधन गरेका हुन् ।

सो अवसरमा उनले दिगो विकासका लक्ष्यहरु परस्पर अन्तर सम्बन्धित विषय भएकोले कुनै एक लक्ष्यको प्राप्तिले अन्य लक्ष्यको प्राप्तिमा परिपूरक हुने बताए । साथै सन् २०३० भित्रै दिगो विकासको लक्ष्य प्राप्त गर्न आर्थिक-सामाजिकलगायत विभिन्न क्षेत्रमा प्रभावकारी हस्तक्षेप आवश्यक रहेको र यसका लागि राष्ट्रिय एवं अन्तरराष्ट्रिय क्षेत्रमा सहयोग सहकार्य र साझेदारी हुनु पर्ने कुरामा जोड दिए ।

विश्वका ६० प्रतिशत भन्दा बढी जनसंख्याको बसोबास भएको एसिया प्रशान्त क्षेत्र भौगोलिक, आर्थिक, सामाजिक रुपमा विविधतायुक्त रहेको बताए । साथै यस क्षेत्रमा रहेको सम्भावनाको दोहन¸समृद्धिको वितरण र असमानता कम गर्न एकजुट भएर अगाडि बढ्नु पर्ने आवश्यकता औल्याए ।
व्यापार र लगानीलाई दिगो विकासका लक्ष्यसंग जोड्न हामी के गर्न सक्छौं भन्ने मुख्य विषय रहेको बैठकमा मन्त्रीले व्यापार र लगानीको विश्वव्यापी प्रवृत्ति र निर्भरताका बारेमा प्रकाश पारे ।

सो अवसरमा दिगो विकासको लक्ष्यहरुलाई चालू चौधौं योजनामा आन्तरिकीकरण गरिसकेकोले विश्वव्यापी लक्ष्यको प्राप्तिमा नेपाल कटिबद्ध रहेको बताए । साथै नयाँ संविधानको घोषणासंगै व्यापार¸लगानी र पूर्वाधारलगायत आर्थिक क्षेत्रमा आवश्यक सुधार गरिएकोले विदेशी लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न आह्वान गरे ।

कार्यक्रमको सन्दर्भ पारी वाणिज्य मन्त्री र बंगलादेशका जलस्रोत मन्त्री अन्सुल ईस्लाम महमुदबीच नेपालको उर्जा विकास लगायत द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।

सो अवसरमा मन्त्रीसँग बंगलादेश र भारतका विभिन्न उद्यमी, व्यवसायीहरुले भेटघाट गरी नेपालमा व्यापार र लगानी विस्तारका सम्भावना एवं नेपालका उद्यमी व्यवसायीहरुसंग सम्बन्ध बिस्तारका बारेमा समेत कुराकानी गरेका गिए ।

प्रतिक्रिया दिनुहोस्
MBL