Logo

पूर्व गभर्नर खतिवडा भन्छन्, भारुले बैंक र सेयरमा असर पारिसक्यो, अब रियलस्टेटमा पार्दैछ

पूर्व गभर्नर खतिवडा भन्छन्, भारुले बैंक र सेयरमा असर पारिसक्यो, अब रियलस्टेटमा पार्दैछ


रामराजा श्रेष्ठ
135
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. युवराज खतिवडाले भारत सरकारले उसको ५ सय र १ हजारको नोटमा प्रतिबन्ध लगाउँदा नेपालको वित्तीय क्षेत्रमा असरको गरेको बताएका छन् । हाल देखिएको तरलता समस्या (लगानी योग्य पूँजीको अभाव) तथा सेयर बजारमा देखिएको असर भारतीय रुपैयाँ (भारु)को प्रतिबन्धले गर्दा देखिएको उनको तर्क छ ।

बाहिरी रुपमा हेर्दा त्यति ठूलो असर नदेखिए पनि भित्री रुपमा भारतीय मुद्राको प्रतिबन्धले ठूलो असर गरेको उनले जानकारी दिए । ‘भारतीय नागरिकले अबैधानिक रुपमा पैसा भित्र्याएर नेपालीको नाममा कम्पनी स्थापना गरी लगानी गर्दै आएका छन्,’ उनले भने, ‘ठूला नोटमा प्रतिबन्ध लागेसँगै बैंकमा तरलता समस्या तथा सेयर बजार घट्न शुरु गरेको हो ।’

नेपालमा वास्तविक लगानीकर्ता नखुलेको हजारौं कम्पनी रहेको र त्यस्ता कम्पनीमार्फत भारतीय नागरिकले लगानी गर्दै आएको उनको दाबी थियो । ‘अहिले पनि धेरै जसो लगानी कम्पनीहरु भारतीयको भरमा चलेका छन्,’ उनले भने, ‘त्यसमा देखावटी नाम मात्र नेपालीको छ ।’ गलत नामबाट इन्भेष्टमेन्ट कम्पनी खोलेर वैदेशिक लगानी भित्र्याउने काम भइरहेको समेत उनले जानकारी दिए ।

भारु प्रतिबन्धको असर केही समयभित्रै रियलस्टेट (घरजग्गा)मा देखिने समेत उनले जानकारी दिए । ‘भारु प्रतिबन्धसँगै घरजग्गा कारोवारमा भित्री रुपमा असर देखिन थालिसकेको छ,’ उनले भने, ‘केही महिना यता घरजग्गा कारोवार सुस्ताएको र अब यसले ठूलो असर निम्त्याउने छ ।’ भारु प्रतिबन्ध हुनु अघि भारतीय नागिरकले हुण्डीमार्फत रकम ल्याएर नेपालको सेयर बजार तथा रियलस्टेटमा लगानी गर्दै आएको र अब त्यो सम्भव नहुने भएकाले स्वत घट्ने उनको तर्क छ ।

नेपालले सेयर बजार तथा रियलस्टेटमा विदेशीको लगानी खुला नगरेपनि त्यस्ता क्षेत्रमा गैर कानुनी प्रणालीबाट ठूलो मात्रामा रकम भित्रिएको उनको दाबी छ । नेपालमा १ हजारभन्दा बढी इन्भेष्टमेन्ट कम्पनी खुलेका छन् तर त्यसको वास्तविक लगानीकर्ता को हो कसैलाई जानकारी छैन । ‘नेपालमा ८÷१० करोड रुपैयाँको चुक्ता पूँजीमा खुलेका कम्पनीले अर्बौं रुपैयाँ नाफा आर्जन गरेर बोनस बाडिरहेका छन्,’ उनले भने, ‘त्यो कसरी सम्भव भयो ?’ नेपाल भारतबीचमा ठूलो मात्रामा अनौपचारिक व्यापार तथा लगानी भएको र भारु प्रतिबन्धसँगै असर गर्न थालेको उनले जानकारी दिए ।

भारतीय पर्यटकले कालोधन खर्च गर्ने हब नेपाल

भारतीय पर्यटकले आफ्नो मुलुकमा गैरकानुनी रुपबाट कमाएको पैसा खर्च गर्ने मुलुकमा नेपाल रहेको खतिवडाको तर्क छ । ‘नेपालमा सहज रुपमा भारतीय रुपैयाँ कारोवार हुने भएकाले भारतीयहरु नेपाल घुम्न आउने क्रम बढेको थियो,’ उनले भने, ‘गैर कानुनी रुपमा कमाएको रकम बैंकिङ प्रणालीमा लैजान कठिन हुने भएकाले पनि उनीहरुले नेपालमा आएर खर्च गर्ने क्रम बढेको थियो ।’

भारत सरकारले ५ सय र १ हजारको नोटमा प्रतिबन्ध लगाउँदा नेपालको पर्यटन क्षेत्रमा असर गर्ने उनको तर्क छ । ‘भारतीयले कालोधन नै ल्याएर खर्च गरे पनि नेपालीको लागि विदेशी मुद्रा आर्जन गर्ने राम्रो स्रोत थियो,’ उनले भने, ‘नगद कारोवारमा प्रतिबन्ध लगाएसँगै बैंकिङ प्रणालीबाट खर्च गर्नुपर्ने भएकाले त्यो क्रम स्वत घट्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL