Logo

गुणस्तरीय फुल उत्पादनका लागि ग्रिन हाउस आवश्यक, निर्यातमा पनि बृद्धि हुने

गुणस्तरीय फुल उत्पादनका लागि ग्रिन हाउस आवश्यक, निर्यातमा पनि बृद्धि हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालको पुष्प निर्यात गर्न कम्तिमा सय हेक्टर क्षेत्रफलमा ग्रिन हाउस निर्माण गर्नुपर्ने पुष्प बिज्ञहरुले सुझाव दिएका छन् ।  फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान)ले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा सहभागी भएका बिज्ञ तथा व्यवसायीहरुले यस्तो धारणा राखेका हुन् । नेपालको आन्तरिक बजारको माग धानेर भारतसहित तेश्रो मुलुकमा पुष्प निर्यात गर्न ग्रिन हाउसलाई सुझावको रुपमा अघि सारेका थिए ।

खुला स्थानमा पुष्प उत्पादन गर्दा हानिकारक किराले पुष्पको भित्री भागमा फूल पार्ने र यो फूल विस्तारै किरामा परिणत भएर गुणस्तर खस्कने उनीहरु बताउँछन् । यसले राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पुष्पको निर्यातमा अवरोध सिर्जना गर्दै आएको उनीहरुको धारणा थियो । ग्रिन हाउसमा फूल खेती गर्दा यस्ता किराबाट जोगिने र उत्पादनमा पनि झण्डै करिब १० गुणा बढी बृद्धि हुने फ्यानका पूर्व अध्यक्ष लोकनाथ गैरेले जानकारी दिए ।

हाल नेपालमा १ सय ४१ हेक्टरमा पुष्पको खेती हुँदै आएको छ । त्यसमध्ये ३० हेक्टरमा ग्रिन हाउस निर्माण गरी व्यवसायिक रुपमा पुष्पको खेती हुन्छ । थप सय हेक्टर क्षेत्रफलमा ग्रिन हाउस निर्माण गरी आधुनिक प्रविधिको सहयोगमा पुष्प खेती सकिए निर्यात गर्न सहज हुने पूर्व अध्यक्ष गैरेले जानकारी दिए । फ्यानका वर्तमान अध्यक्ष कुमारकसजु श्रेष्ठले सय हेक्टरमा ग्रिन हाउस निर्माण गर्न कम्तिमा ५ अर्ब रुपैयाँ लाग्ने जानकारी दिए ।

प्रति स्क्वायर मिटर ग्रिन हाउसलाई ५ हजार रुपैयाँ लाग्छ । एक हेक्टरमा १० हजार स्क्वायर मिटर हुन्छ । श्रेष्ठले ग्रिन हाउससँगै कोल्ड रुम, चिल्लर, रेफ्रिजरेटेड भ्यान, आधुनिक ड्रिप सिंचाई, फयुमिगेसन सेन्टरलगायतको सुविधा भयो भने अहिले आयात हुदैँ आएको भारतीय पुष्पको बजार हिस्सालाई विस्थापन गर्न सकिन्छ ।

‘ग्रिन हाउस र आधुनिक प्रविधिसहितको भौतिक पूर्वाधारमा लगानी लगाउन सकियो भने नेपाल पुष्प खेतीमा आत्मनिर्भर हुन सक्छ,’ श्रेष्ठले भने । अहिले कूल मागको करिब २० प्रतिशत मात्रै अन्य मुलुकबाट पुष्पको आयात हुन्छ । थप पाँच अर्ब लगानी हुन सक्यो भने वार्षिक रुपमा सबा अर्ब मूल्य बरावरको पुष्प निर्यात गर्न नेपाल सक्षम हुने उनको दावी छ ।

पुष्प क्षेत्रमा नीजि क्षेत्रको ५ अर्बको लगानी छ । हाल वार्षिक रुपमा भारतबाट १० करोड मूल्य बराबरको पुष्प आयात हुँदै आएको छ । यस्तै नेपालमा उत्पादन हुने पुष्पमध्ये ताजा पुष्प र बल्व भन्ने जातको पुष्प गरी करिब ३ करोड ५० लाख मूल्य बराबरको निर्यात हुँदै आएको छ । नेपालमा ३९ जिल्लामा ६ सय ७५ पुष्प फर्म तथा नर्सरीमा पुष्प खेती हुन्छ । बार्षिक रुपमा आन्तरिक र बाह्य बजार गरी करिब डेड अर्ब बराबरको कारोबार हुँदै आएको छ ।

कार्यक्रममा मन्त्रालयका उपसचिब शंकर सापकोटाले १० बर्षअघि करिब ९० प्रतिशत आयातित पुष्पमा निर्भर रहेको नेपाल विस्तारै आत्मनिर्भरतर्फ उन्मुख भएको जानकारी दिए । पुष्प विकास केन्द्रका प्रमुख द्रोणराज काफलेले पुष्प क्षेत्रको विकास र प्रवद्र्धन गर्न केन्द्र स्थापना भएपनि मन्त्रालयको असहयोगका कारण कुनै योजना अघि बढाउन नसकेको गुनसो पोखे ।

प्रतिक्रिया दिनुहोस्