Logo

बढ्यो निजी क्षेत्रको चुनावी सरगर्मी, वरिष्ठ उपाध्यक्षमा कसको छ दाबेदारी ?

बढ्यो निजी क्षेत्रको चुनावी सरगर्मी, वरिष्ठ उपाध्यक्षमा कसको छ दाबेदारी ?


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । निजी क्षेत्रका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी चैतदेखि नयाँ नेतृत्व पाउँदैछ । विधानतः पशुपति मुरारका नेतृत्वको वर्तमान कार्यसमितीको अवधि आगामी चैतदेखि समाप्त हुँदैछ । यो पटक महासङ्घको नेतृत्वकर्ता पहिले नै तय भइसकेको छ । तर महासङ्घका अबका हरेक निर्वाचन अर्को पटकको नेतृत्व चयनका लागि हुनेछ ।

वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने गरी महासङ्घको विधान संसोधन भएपछि महासङ्घको हरेक अर्को कार्यकालको नेतृत्व पहिले नै पक्का हुने भएको हो । यसअघि अध्यक्ष पदको निर्वाचनमा तीव्र प्रतिस्पर्धा हुने भएपनि अब भने यस्तो हुने छैन । कार्यसमितीको बहुमतले छनोट गर्ने वरिष्ठ उपाध्यक्षमा अब पहिलेको अध्यक्ष पदमा जस्तै प्रतिस्पर्धा हुनेछ । र यो महासङ्घको इतिहासमा पहिलो पटक हुँदैछ ।

सरकारको समानान्तरका रुपमा समेत हेरिने महासङ्घको नेतृत्वमा स्वभाविक रुपमा व्यवसायीको आकर्षण हुने नै छ । यसबाहेक सञ्चारमाध्यम, मित्रराष्ट्र, कुटनीतिक क्षेत्र सबैले महासङ्घको निर्वाचनलाई नजिकबाट नियालिरहेका हुन्छन् । समग्र आर्थिक तथा व्यापारसँग सम्बन्धित नीतिगत निर्माणमा महासङ्घको अपेक्षित भुमिका रहने तथा आर्थिक गतिविधिमा राज्यकै प्रतिनिधित्व गर्ने हुनाले पनि महासङ्घ नेतृत्वमा को आउँछ भन्ने जान्ने इच्छा धेरैमा हुन्छ ।

को को छन् प्रतिस्पर्धि ?

यसपटक हामीले अनुमानमा मात्र भर परेका छैनौ । व्यक्तिगत रुपमा सम्भावित उम्मेदवारसँग सम्भव भएसँग दोहोरो कुराकानी गरेर नै उम्मेदवारीको दाबेदारीको बारेमा सोधेका थियौं । संसोधित विधान अनुसार कार्यकारिणी सदस्यमा दुई पटक निर्वाचित भएको वा उपाध्यक्ष भएको व्यक्ति वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन सक्ने व्यवस्था भएकोले हामीले पनि अहिलेकै तीनजना उपाध्यक्षलाई सोध्यौं – महासङ्घको वरिष्ठ उपाध्यक्षमा तपाइको उम्मेदवारी रहन्छ वा रहँदैन ?

महासङ्घमा अहिले जिल्ला नगरतर्फ किशोर प्रधान, बस्तुगततर्फ दिनेश श्रेष्ठ र एसोसिएटतर्फ शेखर गोल्छा उपाध्यक्ष छन् । यी तीनै उपाध्यक्ष अहिले कुनै न कुनै रुपमा चुनावी माहोल बुझने क्रममा छन् । कोही देशका विभिन्न जिल्ला नगर उद्योग वाणिज्य सङ्घमा सम्बन्ध स्थापनाका लागि दौडाहामा छन् त कोही रणनीतिक योजना र सम्बन्ध विस्तारमा व्यस्त ।

हामीले उम्मेदवारीको प्रश्न सोधिरहँदा उपाध्यक्ष प्रधान वालिङ् महोत्सव उद्घाटनका क्रममा स्याङ्जामा थिए । यसअघि प्रदिपजङ्ग पाण्डेको समुहबाट जिल्ला नगरतर्फ उपाध्यक्ष निर्वाचित प्रधानको खासगरी मध्यमाञ्चल र पूर्वाञ्चलका जिल्ला नगरमा निकै राम्रो पकड छ । महासङ्घका पूर्व अध्यक्ष कुशकुमार जोशीका नातेदार प्रधान अरु केहि पुर्व अध्यक्षको साथमा वरिष्ठ उपाध्यक्षको दाबेदारी दिने योजनामा छन् ।

पाण्डेकै समुहबाट बस्तुगततर्फ उपाध्यक्ष निर्वाचित दिनेश श्रेष्ठ पनि वरिष्ठ उपाध्यक्षको निर्वाचनमा ‘ब्याक साइडर’ मात्र हुने मनसायमा छैनन् । उनको अठोट निकै बलियो देखिन्छ । मुरारका अनुपस्थित रहने अधिकांश कार्यक्रममा महासङ्घको प्रतिनिधि भएर देखिने श्रेष्ठ फरासिला स्वभावका मानिन्छन् । बस्तुगततर्फ उनको आफ्नो राम्रो ‘स्पेस’ छ । तर प्रधान र श्रेष्ठ दुवै जना यसअघि एउटै समुहबाट निर्वाचित भएकोले दुई पक्षबीच औपचारीक उम्मेदवारीको टुङ्गो लगाउने विषयमा भने आन्तरिक छलफल चलिरहेको कुरा स्रोतले बताएको छ ।

एसोसिएटतर्फका उपाध्यक्ष शेखर गोल्छा गत बर्षको निर्वाचनमा भाष्करराज राजकर्णिकार समुहमा थिए । वर्तमान अध्यक्ष पशुपति मुरारकासँग निकै राम्रो ‘दोस्ती’ रहेका गोल्छा श्रम, रोजगारका विषयमा राम्रो ज्ञान राख्छन् । यद्यपी विधान संसोधनपछि राजकर्णिकार समुहसँगको मतभेद स्पष्ट रुपमा बाहिर प्रस्तुत भइसकेको छ । गोल्छालाई वरिष्ठ उपाध्यक्षको लागि वर्तमान अध्यक्ष मुरारकाको बलियो साथ छ । मारवाडी समुहले उनलाई चुनावमा थप सहयोग गर्ने अपेक्षा समेत राखिएको छ ।

स्वतः अध्यक्ष हुने क्रममा रहेकी भवानी राणाको साथ कसलाई रहन्छ भन्ने अझै टुङ्गो भने लागिसकेको छैन । विधान संसोधनका लागि पाण्डे समुहको समेत बलियो साथ पाएकी राणाले प्राथमिकतामा राख्ने उम्मेदवार भने पाण्डे समुहकै निर्णयमा हुने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्