काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले झण्डै १८ अर्ब रुपैयाँ बराबरको अवैध आर्थिक कारोबारमा संलग्न २१ जनालाई पक्राउ गरेको छ। सिआइबीका प्रहरी उपरीक्षक सुधीर राजा शाहीका अनुसार, विभिन्न मनी चेन्जर कम्पनी तथा सञ्चालकहरूले संगठित रूपमा अवैध वित्तीय कारोबार सञ्चालन गरेको पाइएको छ।
ब्युरोका अनुसार पक्राउ परेकाहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ बराबरको कारोबार गरेको पाइएको सिआइबीले जनाएको छ ।
अनुसन्धानका क्रममा विदेशबाट विप्रेषण बापत प्राप्त रकमको आप्रवाहमा अवरोध गरी, आन्तरिक विप्रेषणको नाममा भन्सार छलफल, सुनको अवैध कारोबार, कर छली लगायतका गतिविधिमा संलग्न समूहहरूले कमाएको गैरकानुनी रकम नेपालमा परिचालित गरिएको पाइएको छ।
ब्युरोका अनुसार ‘सजिलो पे’ र ‘पेवेल नेपाल प्रालि’ जस्ता डिजिटल वालेट कम्पनीहरूको नाममा बैंक खाताहरू खोलिएको र सो खातामार्फत ठूलो परिमाणमा नगद रकम जम्मा गरिँदै आएको थियो।
सो रकमलाई रेमिटेन्स भुक्तानी अनुमति प्राप्त मनी ट्रान्सफरमार्फत ई(मनि बनाएर विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरूका आफन्तहरूको खातामा ट्रान्सफर गरी मिलान गरिएको देखिएको छ। पक्राउ परेकाहरूविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम अनुसन्धान अघि बढाइएको सिआइबीले जनाएको छ।
पक्राउ पर्नेहरूमा वीरेन्द्र प्रसाद साह, दीपेन्द्र प्रसाद साह, श्रवण कुमार साह, तारालाल यादव, हरेराम महतो, निरोज कुमार महतो, अलिता देवी महतो, प्रकाश सिंह, अरुण कुमार साह, प्रदीप कुमार साह, संजिव कुमार महतो, राज लोनिया कमल, भीमकुमारी गुरुङ, रामविलास साह, ममता कुमारी साह, बिकर्णजंग राणा, गणपती पाण्डे, सलमा खातुन, सुशीला कुमारी साहु, गोविन्द प्रसाद आचार्य र शम्भु मेहता रहेका छन् ।