Logo

उड्डयन क्षेत्रमा सुशासन कायम गर्न विधेयक : पर्यटन मन्त्री पाण्डे

उड्डयन क्षेत्रमा सुशासन कायम गर्न विधेयक : पर्यटन मन्त्री पाण्डे



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयनमन्त्री बद्री पाण्डेले मुलुकको नागरिक उड्‌डयन क्षेत्रमा सुशासन कायम गरी कानुनी पद्धतिलाई बलियो बनाउन विधेयक ल्याइएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा नेपाल नागरिक उड्‌डयन प्राधिकरण विधेयक, २०८१ को सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले हवाई क्षेत्रको सुशासन बलियो बनाउँदै यो क्षेत्रमा दक्ष जनशक्तिको प्रबन्ध गर्ने उद्देश्यले विधेयक ल्याइएको बताएका हुन् ।

पर्यटनमन्त्री पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन तथा नेपाली हवाई आकाशलाई गतिशील तुल्याउन विधेयकले भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘दुई निकायलाई अलग–अलग भूमिका निर्वाह गर्नेगरी विधेयक ल्याउनुको अर्थ पद्धति बलियो बनाउने, सुशासन प्रवर्द्धनका साथै दक्ष जनशक्तिको प्रबन्ध गर्ने हो । यसबाट दक्षता विज्ञता आ–आफ्नो ढङ्गले अभिवृद्धि हुनेछ,’ उनले भने ।

मन्त्री पाण्डेले नेपालका अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थललाई चलायमान बनाउन तथा नेपाली आकाशलाई गतिशील रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको र उपयुक्त प्रयोजनका लागि नीति र कानुन बनाउनुपर्ने भएकाले प्रभावकारी र कार्यान्वयनमुखी संरचनाका लागि विधेयक अगाडि बढाइएको बताए । उनले प्रस्तुत विधेयकले कर्मचारीको अहिले भएको सेवासुविधा नघट्ने गरी विधेयकमा प्रबन्ध गरिने बताए ।

मन्त्री पाण्डेले भ्रष्टाचार नियन्त्रणमा मन्त्रालयले दृढताका साथ काम गर्ने बताए । उनले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे निष्पक्षताका साथ छानबिन भइरहेको र प्रारम्भिक प्रतिवेदन आइसकेको जानकारी दिँदै अन्तिम प्रतिवेदन आएपछि प्रतिवेदनले औँल्याएका विषयलाई कुनै कसुर बाँकी नराखी जोकोहीलाई दण्डित गर्न दृढताका साथ लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्