Logo

नेपाललाई गहुँमा आत्मनिर्भर बनाउने प्रयासमा मैदा उद्योग संघ, संघ र भारतको एग्रीवाचबीच सम्झौतापत्रमा हस्ताक्षर

नेपाललाई गहुँमा आत्मनिर्भर बनाउने प्रयासमा मैदा उद्योग संघ, संघ र भारतको एग्रीवाचबीच सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौं । नेपाल मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वैशाख १२ गते भएको उक्त सभाको प्रमुख अतिथिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भन्डारी थिए ।

सो अवसरमा मन्त्री दामोदर भण्डारीको उपस्थितिमा नेपाल मैदा उद्योग संघ र भारतको एग्रीवाच कम्पनी बीच कृषि क्षेत्रमा सूचना प्रवाह, विश्लेषण र परामर्श शेवाहरु प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भु-उपग्रहको प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गर्न निजी क्षेत्रको प्रयासमा पहिलो पटक यो सम्झौता भएको हो ।

वैज्ञानिक आधारमा बालीको तथ्यांक, किसानहरूको समस्याको गहिरो बुझाइ, र लक्षित समाधानहरू लागू गरेर, नेपालले आगामी तीन वर्षभित्र गहुँमा पूर्ण आत्मनिर्भरता हासिल गर्ने ठूलो सम्भावना राख्दछ । यो महत्वाकांक्षी लक्ष्य हासिल गर्न नेपाल सरकार र सबै सरोकारवालाहरूको निरन्तर बलियो समर्थन र सहकार्य अत्यन्त आवश्यक हुनेछ।

सम्झौतापत्रबाट नेपालले लिन सक्ने फाईदाहरु

क) कृषि बजार सूचना र विश्लेषण : नेपालको कृषि वस्तुहरूको मुल्य संकलन गर्छ । यसले दैनिक, साप्ताहिक, र मासिक रिपोर्टहरू मार्फत बजार विश्लेषण प्रदान जसले कृषक र व्यापारीलाई निर्णय लिन सहयोग र्पुयाउँछ ।

ख) कृषि वस्तु अनुसन्धान र परामर्श : कम्पनीले कृषि वस्तुहरूको अनुसन्धान र परामर्श सेवाहरू प्रदान गर्दछ, जसमा उत्पादन, उपभोग, आयात र निर्यात विश्लेषण, र बजार प्रवृत्तिहरू समावेश छन्।

ग) कृषि निवेश अध्ययन र सल्लाह : बीउ, मल, र अन्य कृषि निवेशको अध्ययन र सल्लाह प्रदान गर्दछ । कृषकहरूलाई उपयुक्त वालि छनोट गर्न मद्दत गर्दछ ।

घ) डिजिटल कृषि समाधानहरू : डिजिटल कृषि समाधानहरू जस्तै एआइ आधारित बाली विश्लेषण, व्यक्तिगत कृषि परामर्श, र बजार जडान सेवाहरू प्रदान गरी कृषकहरूलाई आधुनिक प्रविधिको उपयोगमा सक्षम बनाउनका साथै देशको यथार्थ कृषि तथ्याङ्क निकाल्छ । जसले गर्दा नेपालमा कृषिको उत्पादन आयात निर्यात र भोलिको दिनमा नेपाल सरकारले अपनाउन पर्ने कृषि रणनीतिको बारेमा सहजीकरण गर्दछ ।

ङ) कृषि समाचार र जानकारी : एग्रीवाचले कृषि सम्बन्धी ताजा समाचार, वस्तु मूल्यहरू, र बजार रिपोर्टहरू प्रकाशित गर्दछ, जसले कृषक र अन्य सरोकार वालाहरूलाई अद्यावधिक जानकारी प्रदान गर्दछ ।

साथै यस कार्यक्रममा भारत सरकारको राष्ट्रिय सहकारी निर्यात लिमिटेडका प्रबन्ध निर्देशक अनुपम कौशिकको उपस्थिति रहेको थियो । भारत सरकारले कृषि क्षेत्रको प्रबर्द्धन र कोटा निर्यात लगायत कृषिसँग सम्बन्धित विषयमा सहकारी निर्यात लिमिटेडलाई पूर्ण अधिकार प्रत्यायोजन गर्ने हुँदा भारतको औद्योगिक बस्तु निर्यातमा सहकारी निर्यात लिमिटेडको ठुलो हात रहेको छ ।

भारतले नेपाललाई दिएको २ लाख टन गहुँ र विगतमा चिनी लगायतका खाद्यान्न नेपाल आयात गर्दा सहकारी निर्यात लिमिटेड मार्फत नै आयात गरिएको थियो ।

सहकारी निर्यात लिमिटेड र नेपालको सम्बन्धमा अझ प्रगाढ ल्याउने उद्देश्य अनुरूप प्रबन्ध निर्देशकलाई संघको विशेष अनुरोधमा नेपाल आमन्त्रण गरिएको हो ।

साथै सभामा नेपालकै जेठो मैदा उद्योग खाद्य उद्योग लिमिटेड र संघको संस्थापक अध्यक्ष रविन्द्र बहादुर श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरिएको जनाइएको छ । नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडको सभापतिमा उक्त सभा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्