काठमाडौं । पछिल्लो समय नेपालमा सेवा क्षेत्र तीव्र गतिमा फस्टाइरहेको छ । नेपालमा स्वदेशी लगानी प्रतिवद्धता होस् या विदेशी लगानी प्रतिवद्धता, सेवा तथा पर्यटन क्षेत्रमा लगानीकर्ताहरुको आकर्षण उच्च देखिँदै आएको छ ।उद्योग क्षेत्रको पछिल्लो तथ्यांकलाई आधार मान्दा पनि चालु आर्थिक बर्षको् पछिल्लो ९ महिनामा नेपालमा आएको कुल विदेशी लगानी प्रतिवद्धतामा ठूलो हिस्सा पर्यटन र सेवा क्षेत्रले ओगटेको देखिन्छ ।
उद्योग विभागको तथ्यांकलाई आधार मान्दा चालु आवको ९ महिनामा नेपालमा सेवा क्षेत्रमा ३४ अर्ब ९२ करोड र पर्यटन क्षेत्रमा १८ अर्ब ३८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यो चालु आवको यस अवधिमा आएको कुल लगानीको झण्डै ९२ प्रतिशत हुन आउँछ । अर्थात चालु आवको यस अवधिसम्म कुल ५७ अर्ब ९७ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको छ ।
यसरी हेर्दा नेपालमा विदेशी लगानीकर्ताहरु खासगरी सेवा र पर्यटनमुलक क्षेत्रमा बढी आकर्षित भएको यो तथ्यांकले देखाउँछ । नेपालमा विदेशी लगानी मात्रै नभएर यो क्षेत्रमा कर्जा लगानीको आँकडाले पनि यो क्षेत्र पछिल्लो समय तीव्र गतिमा अघि बढिरहेको देखाउँछ ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक बर्षको ८ महिना अर्थात फागुन मसान्तसम्मको तथ्यांक अनुसार नेपालमा सेवा क्षेत्रमा मात्रै चालु आबमा ४ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । गत आर्थिक बर्षको यहि अवधिसम्म यो क्षेत्रमा ४ खर्ब २९ अर्ब रुपैयाँ मात्रै प्रवाह भएको यस्तो कर्जा चालु आवको ८ महिनामा गत आवको सोही अवधिको तुलनामा ३४ अर्ब ८४ करोड रुपैयाँले अर्थात ८ प्रतिशतले बढेको देखिन्छ ।
केन्द्रिय बैंकको तथ्यांकलाई आधार मान्दा कर्जा प्रवाह गरिने सेवा क्षेत्रहरुमा पर्यटनमुलक उद्योग, होटल उद्योग, विज्ञापन एजेन्सी, अटोमोटिभ सर्भिस, अस्पताल, शिक्षा क्षेत्रका उद्योग, मनोरञ्जनमुलक उद्योगहरुलगायत पर्दछन् । यीमध्ये पनि चालु आवको ८ महिनामा पर्यटनमुलक अर्थात ट्रेकिङ, माउन्टेनियरिङ, रिसोर्ट, र्याफ्टीङ, क्याम्पिङलगायतका सेवा प्रवाह गर्ने उद्योगहरुमा कर्जा लगानी गत आवको तुलनामा १७ प्रतिशतले बढेर २९ अर्ब रुपैयाँ पुगेको छ । गत आवमा यो क्षेत्रमा जम्मा २४ अर्ब ७८ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको थियो ।
यस्तै यसै अवधिमा होटल क्षेत्रको कर्जामा उल्लेख्य अर्थात २ खर्ब ७ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । यो गत आवको यहि अवधिको तुलनामा १२ अर्ब रुपैयाँ अर्थात ६.२ प्रतिशतले बढी हो । अर्थात कर्जा प्रवाहदेखि नयाँ लगानीसम्म होटल र पर्यटन क्षेत्रमा पछिल्लो समय विदेशी तथा स्वदेशी लगानीकर्ताहरुको उच्च आकर्षण रहेको देखिएको छ । यद्यपि पछिल्लो समय यो क्षेत्रमा बढेको तीव्र आकर्षणका कारण अस्वस्थ प्रतिस्पर्धाले जरा गाड्दै गएको सेवा क्षेत्रका उद्यमीहरु बताउँछन् ।
नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक शाह सेवाक्षेत्रका उद्योगहरु धेरै तर पर्यटक आवागमन न्यून हुँदा यो क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढिरहेको बताउँछन् । ‘उद्योगी, व्यवसायीले नचाहदा नचाहँदै पनि प्रतिस्पर्धा बढिरहेको छ, यसको खास कारण नै उद्योग बढी सेवाग्राही न्यून हुनु हो,’ उनले भने, ‘नेपालमा आउने पर्यटकहरु न्यून हुँदा नेपालका उद्योगीहरुले उनीहरुलाई आफ्नोमा तान्न न्यून मूल्यमै सेवा दिनुपरिरहेको छ ।’ सेवा क्षेत्रमा प्रवाह भएको कर्जामध्ये टर्म लोन अन्तर्गत ३ खर्ब ८२ अर्ब, क्यास क्रेडिट लोन, ४६ अर्ब ७१ करोड र चालु पुँजी कर्जा शिर्षकमा १ खर्ब ४५ अर्ब रुपैयाँ प्रवाह भएको छ ।