Logo

प्रभु बैंकको नाफा १ अर्ब ८७ करोड, जगेडा कोषमा १४ अर्ब ५३ करोड रुपैयाँ

प्रभु बैंकको नाफा १ अर्ब ८७ करोड, जगेडा कोषमा १४ अर्ब ५३ करोड रुपैयाँ



काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा प्रभु बैंकले १ अर्ब ८७ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । आवको तेस्रो त्रैमाससम्म बैंकको नाफा ३.५१ प्रतिशतले बढेको हो । बैंकले गत आवको तेस्रो त्रैमाससम्म १ अर्ब ८१ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा बैंकको कर्जा २ अर्बले मात्रै बढेको छ । बैंकको कर्जा चैत मसान्तमा आउँदा २ खर्ब २३ अर्ब ३४ करोड २१ लाख पुगेको छ । बैंकको निक्षेप भने १५ अर्बभन्दा धेरैले बढेको हो । चैत मसान्तमा बैंकको निक्षेप ३ खर्ब २० अर्ब ५२ करोड ५ लाख पुगेको छ ।

बैंकको स्प्रेड दर पनि केही घट्दा खुद ब्याज आम्दानी १ अर्ब भन्दा धेरैले घटेको हो । बैंकको खुद शुल्क तथा कमिसन आम्दानी र नेट ट्रेडिङ आम्दानीमा वृद्धि भए पनि खुद ब्याज आम्दानी घट्दा बैंकको कुल सञ्चालन आम्दानी घटेको छ ।

बैंकको निष्कृय कर्जा बढे पनि अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा सम्भावित कर्जा नोक्सानीको लागि छुट्याएको रकम घटेको छ । जसले बैंकको नाफा सामान्य बढेको हो । कर्जा बढाउन नसकेको बैंकको स्प्रेड दर घटेको कारण खुद ब्याज आम्दानी घटेको हो । बैंकको स्प्रेड दर चालु आवको तेस्रो त्रैमासमा ३.९० प्रतिशतमा झरेको हो । यसले बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३५ करोड रुपैयाँ भन्दा धेरैले घटेको छ ।

चालु आवको तेस्रो त्रैमासमा बैंकको खुद आम्दानी ७ अर्ब ८ करोड ५७ लाखमा सीमित भएको छ । खुद फि तथा कमीसन आम्दानी बढेर १ अर्ब ६५ करोड ३० लाख पुगेको हो ।

बैंकको नेट ट्रेडिङ आम्दानी बढेर ४१ करोड ७४ लाख रुपैयाँ र अन्य सञ्चालन आम्दानी बढेर ४६ करोड ६७ रुपैयाँ पुुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी घटेर ९ अर्ब ६१ करोड ९० लाखमा घटेको हो । निष्क्रिय कर्जा बढेसँगै बैंकले चैत मसान्तसम्म सम्भावित कर्जा नोक्सानीको लागि १ अर्ब २३ करोड ८० लाख रुपैयाँ छुट्याएको छ । गत आवको यस अवधिमा बैंकले सम्भावित कर्जा नोक्सानीको लागि १ अर्ब ७५ करोड ८६ लाख रुपैयाँ छुट्याएको थियो ।

आम्दानी घटे पनि र कर्जा नोक्सानी व्यवस्थाको लागि छुट्याएको रकम घट्दा बैंकको नाफामा वृद्धि भएको हो । चैत मसान्तमा बैंकको सञ्चालन नाफा ३ अर्ब ५७ करोड २८ लाखबाट घटेर ३ अर्ब ४३ करोड ५३ लाख रुपैयाँमा झरेको हो ।

बैंकको सञ्चित नोक्सानी भने बढ्दै गएको छ । चालु आवको तेस्रो त्रैमाससम्म ३७ करोड ६६ लाख वितरणयोग्य नोक्सानीमा रहेको छ । बैंक कुल सञ्चित नोक्सानी ३ अर्ब ४० करोड २३ लाख रुपैयाँ पुगेको छ ।

बैंकक चुक्ता पुँजी २३ अर्ब ५४ करोड २५ लाख रुपैयाँ छ । बैंकको जगेडाकोषमा १४ अर्ब ५३ करोड ६ लाख रुपैयाँ पुगेको छ । नाफा सामान्य बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ २६ पैसाबाट बढेर १० रुपैयाँ ६३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा र मूल्य आम्दानी अनुपात १९.५२ गुणा छ । चैत मसान्तमा बैंकको प्राथमिक पूँजीकोष अनुपात ८.६७ प्रतिशत सहित पुँजीकोष अनुपात १२.८४ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्