Logo

म्यादभित्र दर्ता नभए फेसबुकलगायत सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाईनेछ : संचारमन्त्री गुरु

म्यादभित्र दर्ता नभए फेसबुकलगायत सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाईनेछ : संचारमन्त्री गुरु



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइने चेतावनी दोहोर्‍याएका छन्।

शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन भइरहेका सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मले मुलुकको कानुन र नियम पालना गर्नुपर्ने स्पष्ट पार्दै, तोकिएको समयसीमाभित्र दर्ता नभए प्रतिबन्ध लाग्ने बताए।

सञ्चार मन्त्रालयले चैत ७ गते सूचना जारी गर्दै एक महिनाभित्र दर्ता हुन आह्वान गरेको थियो। सरकारले थप गरेको एक महिनाको म्याद सकिन अब केही दिन मात्र बाँकी रहँदा पनि प्रमुख सामाजिक सञ्जालहरूले दर्ता प्रक्रिया सुरु नगरेको मन्त्री गुरुङको भनाइ थियो।

उनले सामाजिक सञ्जालसम्बन्धी कानुन सञ्चारमाध्यमलाई बन्द गर्ने उद्देश्यले नभई नियमन गर्ने हेतुले ल्याइएको पनि स्पष्ट पारे।

कार्यक्रमको अर्को प्रसंगमा उनले चैत्र १५ गते काठमाडौंमा राजावादी समूहले आयोजना गरेको आन्दोलनलाई प्रतिगामी र संविधानविपरीतको कदम भन्दै आलोचना गरे। शान्तिपूर्ण प्रदर्शनको नाममा हिंसा भड्काउने कामलाई सरकारले कानुनी कारबाही गर्ने चेतावनी पनि दिए।

उनले प्रविधिको दुरुपयोगमार्फत देश, राजनीतिक दल तथा जनतालाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध सरकारले कडाइका साथ कदम चालिरहेको उल्लेख गरे।

कार्यक्रममा पत्रकार उषा लोहनी र डा। हरिकला अधिकारीलाई ‘सञ्चारिका अग्रणी सम्मान’ प्रदान गरिएको थियो। त्यस्तै ‘सञ्चारिका समानता पुरस्कार’ धनु विश्वकर्मालाई र ‘स्व। उमा सिंह पत्रकारिता पुरस्कार’ पत्रकार सपना कुमारी कर्णलाई प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्