काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो ऋण देशको कुल गार्हस्थ उत्पादन (जिडिपी)को ४६.७५ प्रतिशत हो।
कुल ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ रहेको छ भने बाह्य ऋण १३ खर्ब १ अर्ब ७४ करोड रुपैयाँ छ।
ऋण संकलनमा लक्ष्यभन्दा कम प्रगति सरकारले चालु आर्थिक वर्षमा आन्तरिक तथा बाह्य स्रोतबाट गरी ३ खर्ब ६६ अर्ब ९ करोड रुपैयाँ ऋण संकलन गरिसकेको छ।यसमध्ये २ खर्ब ९१ अर्ब १४ करोड रुपैयाँ आन्तरिक स्रोतबाट र ७४ अर्ब ९५ करोड रुपैयाँ बाह्य स्रोतबाट उठाइएको हो।
सरकारले चालु वर्षमा कुल ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण संकलन गर्ने लक्ष्य राखेको थियो। तर हालसम्म केवल ६६.९३ प्रतिशत मात्र लक्ष्य हासिल भएको देखिन्छ।आन्तरिक ऋण उठाउने लक्ष्य ३ खर्ब रुपैयाँमध्ये ८८.२२ प्रतिशत अर्थात २ खर्ब ९१ अर्ब १४ करोड रुपैयाँ उठाइएको छ।
२ खर्ब १७ अर्ब रुपैयाँको लक्ष्यसहितको बाह्य ऋण संकलनमा भने मात्र ३४.५४ प्रतिशत अर्थात ७४ अर्ब ९५ करोड रुपैयाँ मात्रै उठ्न सकेको हो।
ऋण सेवा खर्च पनि उच्च
चालु आर्थिक वर्ष २०८१/८२ मा ऋण सेवा खर्चको वार्षिक बजेट ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ तोकिएको छ। चैत मसान्तसम्म २ खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ खर्च भइसकेको छ, जुन कुल बजेटको ६२.६७ प्रतिशत हो। यस अवधिमा आन्तरिक ऋण भुक्तानीमा २ खर्ब १२ अर्ब ९३ करोड रुपैयाँ,बाह्य ऋण भुक्तानीमा ३९ अर्ब ५५ करोड रुपैयाँ खर्च गरिएको छ।
ब्याज भुक्तानीका लागि छुट्याइएको १ खर्ब ३ अर्ब १२ करोड रुपैयाँ बजेटमध्ये ४९ अर्ब ४५ करोड रुपैयाँ खर्च भइसकेको तथ्यांक छ। जसले देखाउँछ कि ऋणको ब्याज भुक्तानी राज्यको वित्तीय दायित्वमा दिनप्रतिदिन बढ्दो बोझ बन्दै गएको छ।