काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा सांसद सुमना श्रेष्ठले पार्टी पदबाट राजीनामा दिने प्रस्ताव अघि सारेकी छन्। उनले आफू प्रतिनिधिसभाको जिम्मेवारीमै सीमित रहने र पार्टीको अभियानकारी भूमिकामा अन्य सक्षम व्यक्तिलाई मौका दिनुपर्ने बताउँदै पदबाट राजीनामा दिने प्रस्ताव राखेकी हुन् ।
श्रेष्ठले कार्यवाहक सभापति डिपी अर्याललाई बुझाएको प्रस्तावमा ‘एक व्यक्ति, एक पद’ सिद्धान्त व्यवहारमा उतार्नुपर्ने बताउँदै, सांसद र पार्टी पद दुबै एकै व्यक्तिले सम्हाल्दा राम्रो सन्देश नजाने उल्लेख गरेकी छन्।
उनले उपसभामुख इन्दिरा राना र प्रमुख सचेतक सन्तोष परियारजस्ता प्रतिनिधिहरूलाई भने विशेष समुदायको प्रतिनिधित्व भएकाले अपवादस्वरूप मान्न सकिने उल्लेख गरेकी छन्।
पार्टीभित्र यस प्रस्तावलाई लिएर बहस सुरु भएको छ। केहीले उनको निर्णयलाई सिद्धान्तमा अडिएको बताएको भए पनि धेरै नेताहरूले पार्टी संकटमा रहेकै बेला यस्तो कदमले निराशा थप्ने टिप्पणी गरेका छन्।