काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो व्यवस्थापनलाई सुदृढ तुल्याउन विदेशी व्यवस्थापक भित्र्याउने योजना अघि सारेको छ । निगमले पछिल्लो करिव ३ महिनादेखि निगममा प्राविधिक साझेदार भित्र्याउने गरी अध्ययन गरिरहेको निगम स्रोतले जानकारी दिएको छ ।
अध्ययनले निर्देश गरेबमोजिम साझेदार भित्र्याउने ग्लोबल टेण्डर आह्वान गरिनेछ । निगमको आर्थिक संकट, व्यवस्थापकीय कमजोरी, र अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकेको अवस्थालाई सम्बोधन गर्न यो कदम आवश्यक ठानिएको हो । नेपाल एयरलाइन्स लामो समयदेखि आर्थिक र व्यवस्थापकीय समस्याबाट गुज्रिरहेको छ । हाल निगमको ऋण करिब साढे ४७ अर्ब हाराहारी पुगेको छ भने सञ्चालन घाटा निरन्तर बढिरहेको छ । विगतमा चिनियाँ जहाजहरूको असफल सञ्चालन, भ्रष्टाचारका आरोपहरू, र कर्मचारी युनियनको विरोधले निगमको सुधार प्रयासहरू अवरुद्ध हुँदै आएका छन् । यस्तो पृष्ठभूमिमा विदेशी प्राविधिक व्यवस्थापक भित्र्याउन सके निगमलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ ।
यो अध्ययनले निगमको प्राविधिक पक्षलाई विशेष जोड दिँदै विदेशी प्राविधिक साझेदार भित्र्याउन सहयोग गर्ने निगमका प्रवक्ता सुवास डांगीले बताए । प्राविधिक व्यवस्थापनमा विदेशी विशेषज्ञहरूको सहभागिताले जहाज मर्मत, उडान सञ्चालन, र सुरक्षा मापदण्डमा सुधार हुने अपेक्षा गरिएको उनले बताए । ‘हाामीले विगतका कमजोरीबाट पाठ सिकेका छौं । यो अध्ययनले हामीलाई कस्तो खालको प्राविधिक व्यवस्थापन आवश्यक छ भन्ने स्पष्ट मार्गचित्र दिनेछ,’ डाँगीले भने । उनका अनुसार अध्ययनको नतिजा प्राप्त भएपछि ग्लोबल टेण्डरमार्फत अन्तरराष्ट्रिय स्तरका प्राविधिक व्यवस्थापक वा कम्पनीहरूलाई निगममा सहभागी गराइनेछ ।
नेपाल एयरलाइन्सको इतिहासमा विदेशी व्यवस्थापन भित्र्याउने प्रयास नयाँ होइन । विस २०६० मा निगमको ४९% सेयर निजी वा विदेशी कम्पनीलाई बेच्ने र व्यवस्थापन हस्तान्तरण गर्ने योजना बनेको थियो । तर, उपयुक्त साझेदार नभेटिनु, नीतिगत जटिलता, र कर्मचारी विरोधले यो योजना उतिबेला असफल भयो । त्यसयता, भ्रष्टाचारका घटनाहरू, जस्तै २०६८ मा तत्कालीन अध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीमाथि लागेको जहाज खरिद अनियमितता, र २०७१–२०७२ मा खरिद गरिएका ६ चिनियाँ जहाजको असफल सञ्चालनले विदेशी व्यवस्थापनको आवश्यकता बारम्बार उजागर भएको छ । यी चिनियाँ जहाज २०७७ साउन १५ देखि ग्राउण्डेड छन्, र हाल तिनलाई बिक्री गर्न टेण्डर आह्वान गरिएको छ ।
यस्तै २०८१ मा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले पनि निगमको पुनर्संरचना र विदेशी व्यवस्थापन भित्र्याउन सिफारिस गरेको छ । ४ सय ४७ पेजको उक्त प्रतिवेदनमा निगमलाई व्यावसायिक बनाउन केही वर्षका लागि विदेशी व्यवस्थापकलाई जिम्मेवारी दिनुपर्ने उल्लेख छ । यद्यपि, यो सिफारिस कार्यान्वयनमा नआए पनि, हालको प्राविधिक व्यवस्थापन अध्ययनलाई त्यसकै निरन्तरताका रूपमा हेरिएको छ । हाल निगमको बजार हिस्सा हाल ५ प्रतिशतमा झरेको छ, र अन्तरराष्ट्रिय उडानमा प्रतिस्पर्धा गर्न कठिनाइ हुँदै गएको पछिल्ला घटनाक्रमले देखाउँछ । नेपालको खराब हवाई सुरक्षा रेकर्डका कारण युरोपेली युनियनले पनि नेपाली वायुसेवा कम्पनीहरूलाई आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगाएको छ । यस्तो अवस्थामा विदेशी प्राविधिक व्यवस्थापकले सुरक्षा मापदण्ड सुधार्न र निगमको विश्वसनीयता बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ ।
अध्ययनको प्रगति र ग्लोबल टेण्डरको तयारीबारे बिजखबरसँगको कुराकानमिा प्रवक्ता डाँगीले यो प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाउँदै अन्तर्राष्ट्रिय स्तरका प्राविधिक कम्पनीहरूले निगमको प्राविधिक व्यवस्थापन सम्हाल्दा हाम्रो सेवा गुणस्तर र आर्थिक अवस्था सुध्रने विश्वास लिईएको बताए । उनले अध्ययनको नतिजा चाँडै सार्वजनिक हुने र त्यसपछि टेण्डर प्रक्रिया शुरू हुने बताए । तर, यो योजनालाई कार्यान्वयन गर्न चुनौतीहरू छन् । विगतमा कर्मचारी युनियनको विरोधले यस्ता प्रयासहरूलाई अवरुद्ध बनाउँदै इतिहास छ । साथै, उपयुक्त प्राविधिक साझेदार खोज्न र तिनलाई आकर्षित गर्न निगमको कमजोर आर्थिक अवस्थाले बाधा पुर्याउन सक्ने सम्भावाना पनि उत्तिकै छ । राजनीतिक हस्तक्षेप र नीतिगत अस्पष्टताले पनि प्रक्रियालाई जटिल बनाउन सक्ने विज्ञहरूको भनाइ छ ।
निगमको सुधारका लागि विदेशी प्राविधिक व्यवस्थापन एक महत्वपूर्ण कदम भएको पर्यटन मन्त्रालयका एक अधिकारीले बताए । तर, यसका लागि सरकार, निगम, र कर्मचारीहरूबीच सहमति आवश्यक रहेको उनको भनाई छ । उनले ग्लोबल टेण्डरलाई सफल बनाउन नीतिगत स्पष्टता र लगानीकर्ताहरूलाई आकर्षित गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । नेपाल एयरलाइन्सको यो नयाँ प्रयासले निगमलाई आर्थिक संकटबाट बाहिर निकाल्न र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सक्ने सम्भावना छ । तर, विगतका असफलताहरूबाट पाठ सिक्दै पारदर्शी र प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने देखिन्छ ।