काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङको बदमासीका कारण कम्पनीका संस्थापकहरुले सेयरको लकइन नखुल्दै बिक्री गरेर बाहिरिने क्रम बढेको छ । कम्पनीका संस्थापकहरुले नेप्से र सिडीएससीका कर्मचारीसँगको मिलेमतोमा आईपीओ पश्चात सेयर सूचीकृत गराउँदा एउटै कोड र आईजिन(इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर) नम्बर लिई लकइन नखुल्दै सेयर बिक्री गरेका हुन् ।
संस्थापक र सर्वसाधारण गरी दुई समुहका सेयरलाई नेप्से र सीडीएससीले एउटै कोड र आइजिन दिँदा कतिपयले झुक्किएर सेयर बिक्री गरेका छन् भने कतिपयले जानाजानी गैरकानूनी रुपमा सेयर बिक्री गरेर लकइन नखुल्दै बाहिरिने गरेका छन् । बिशेषगरी पछिल्लो समय जलविद्युत कम्पनीका संस्थापकहरुले दोस्रो बजारमा लकइन नखुलिकनै प्रमोटर सेयर बिक्री गरेर बाहिरिएको भेटिएको हो । नेप्सेका कर्मचारीले निहित स्वार्थका लागि कतिपय कम्पनीलाई कानून बाझिनेगरी सेयर सूचीकृत गर्दा नै प्रमोटर र पब्लिक समुहलाई एउटै कोड र सोही सीडीएसीले आइजिन दिँदा समस्या निम्तिएको हो ।
नियमत आईपीओ जारी गर्दा धितोपत्र बोर्डमा धितोपत्र दर्ता गराउँदा धितोपत्रको किसिम उल्लेख गर्नुपर्ने हुन्छ । जहाँ स्पष्ट रुपमा संस्थापक र सर्वसाधारण गरी दुई क्लस्टरमा सेयर दर्ता गराईन्छ । तर, नेप्सेले भने दुई थरी सेयरलाई एउटै कोड र सीडीएससीले पनि एउटै आइजिन नम्बर दिएर समस्या उत्पन्न गराएको एक मर्चेञ्ट बैंकरका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । ‘आईपीओ जारी गर्दा जलविद्युत तथा रियल सेक्टरका कम्पनीको संस्थापकको ३ वर्षे लकइन हुन्छ भने धितोपत्र बोर्डमा पनि दुई थरी सेयर उल्लेख गरिएको हुन्छ,’ ती सीईओले भने, ‘तर, नेप्सेले संस्थापक र सर्वसाधारणलाई एउटै कोड र आइजिन दिएर लकइन नखुल्दै एउटै बास्केटमा मिसाईदिँदा अहिले समस्या उत्पन्न भएको छ ।’ यदि नेप्से र सीडीएसीले संस्थापक र सर्वसाधारलाई फरक फरक कोड र सोही अनुरुप आइजिन दिएमा लकइन नखुलिकन संस्थापक सेयर बिक्री हुनबाट रोकिनुका साथै अहिले बजारमा देखिएको विकृतिसमेत हट्ने उनको भनाई थियो ।
तर, अहिले नेप्से र सीडीएसीले गलत काम गर्दा त्यसको भागिदार आरटीएसहरु हुनु परेको समेत अर्का एक मर्चेञ्टका सीईओले जानकारी दिए । ‘यदि सेयरको प्रकृति नै दुई थरी छ भने दुईथरी नै कोड र आइजिन दिनुपर्छ,’ ती सीईओले भने, ‘पछि लकइन खुलेपछि सबै सेयरलाई एउटै बास्केटमा राखेर मिसाउँदा भैहाल्छ नि । तर, अबका दिनमा सेयर सूचीकृत गर्दा नै एउटै कोड दिएर बजारमा आउने अन्यौलता र सोहीअनुरुप विकृति फैल्याउने काम रोक्नुपर्छ ।’ एउटै आइजिन अहिलेको मुख्य समस्या भएको उनको तर्क छ ।
तर, नेप्सेका प्रवक्ता मुराहरि पराजुली भने कोड र आइजिनका कारण संस्थापक सेयर लकइन नखुल्दै बिक्री भएको हो वा अन्य कारणले भन्ने विषयमा आफु अन्यौलमा रहेको बताउँछन् । ‘नेप्सेले दिने एउटै कोड र सीडीएसीले उपलब्ध गराउने एउटै आइजिनका कारण समस्या उत्पन्न नहुनुपर्ने हो,’ उनले भने, ‘के कारणले लकइन नखुल्दै संस्थापक सेयर बिक्री भएको छ यस विषयमा थप बुझ्नुपर्ने हुन्छ ।’ नियमत संस्थापक र सर्वसाधारणका लागि फरक फरक कोड र आइजिन हुनुपर्ने भएपनि नेप्सेका कारण समस्या सिर्जना भएको सीडीएससीका पूर्व प्रमुख कार्यकारी अधिकृत पूर्ण आचार्य बताउँछन् । ‘अहिले नेप्सेले कतिपय कम्पनीलाई एक वटा कोड दिएको छ नियमत यो गलत थियो तर, नेप्सेले सेयर सूचीकृत गर्दा जतिवटा कोड नम्बर दियो सीडीएससीले सोहीअनुरुप आइजिन बनाइदिने मात्र हो ।’
सेयर सूचीकृत गर्दा नेप्सेले जतिवटा कोड दियो सीडीएससीले सोहीअनुरुप आइजिन बनाइदिनुपर्छ । तर, नेप्सेले नै एउटै दिएमा सीडीएससीले सोहीअनुरुप दिने आचार्यले जानकारी दिए । ‘हुनुपर्ने चाहिँ संस्थापक र सर्वसाधारको दुईथरी कोड र दुई थरी आइजिन हो,’ उनले भने, ‘यस विषयमा नेप्सेबाट शुद्धिकरण हुनु जरुरी छ किनकि नेप्सेको कोड नभई सीडीएससीले आइजिन दिन मिल्दैन र सक्दैन पनि ।’ तसर्थ आइजिनको समस्या सीडीएससीमा नभइ नेप्सेको भएको र नेप्सेले कुनैलाई एउटै र कुनैलाई दुई वटा कोड किन दियो यस विषयमा नेप्से स्वयं जवाफदेही हुनुपर्ने उनको तर्क छ ।
तर, नेप्सेले संस्थापक र सर्वसाधारलाई एउटै कोड नम्बर दिएपनि सीडीएससीले त्यसलाई रोक्नुपर्ने एक लगानीकर्ताले जानकारी दिए । ‘कानूनत दुई थरी सेयरको दुई थरी कोड र आइजिन हुनुपर्छ,’ ती लगानीकर्ताले भने, ‘तसर्थ सेयर बजारमा भइरहेको विकृति रोक्दै शुद्धिकरण गर्दै दिगो विकासमा लैजाने हो भने सूचीकृत गर्दा नेप्सेले एउटै कोड दिएपनि सीडीएससीले अडान लिएर संस्थापक र सर्वसाधारणका लागि फरक फरक आइजिन दिनुपर्छ ।’ यस विषयमा नेप्सेले एउटा कोड दिएर एउटै आइजिन दिन बाध्य बनाएपनि त्यसलाई सीडीएससीले इन्कार गर्नुपर्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।