काठमाडौं । विगत लामो समयको पर्खाइपछि चक्रपथ विस्तारको दोस्रो खण्डको काम अब चाँडै सुरु हुने आशा पलाएको छ । करिव ५ वर्षदेखि अलपत्र अवस्थामा रहेको चक्रपथ विस्तारको दोस्रो खण्डको विस्तृत परियोजना अध्ययन (डीपीआर) निर्माणमा चिनियाँ पक्षले तीव्रता दिएसँगै विस्तार अघि बढने देखिएको हो ।
पाँच वर्षअघि नै चक्रपथ दोश्रो खण्डको विस्तृत अध्ययन र डिजाइनसँगै निर्माणसमेत गर्ने जिम्मा लिएको चिनियाँ पक्षले हालसम्म आलटाल गरिरहेको आयोजनामा ढिलो गरि डिपीआर बनाउन लागेको हो । हालैमात्रै एक विदेशी परामर्शदाता कम्पनी छनोट गरी चिनियाँ पक्षले डिपीआरको काम सुरु गरेको जानकारी पाएको काठमाडौं चक्रपथ सुधार योजना प्रमुख कृष्णनाथ ओझाले बताए । सो परामर्शदाता कम्पनीले चक्रपथ दोस्रो खण्डको सर्भे गरेको थियो । उक्त सर्भे गर्ने क्रमममा कम्पनीले चक्रपथको विस्तृत परियोजना अध्ययन गर्नका लागि आवश्यक अध्ययनको शैलीसमेत अपनाएको थियो । तर, चिनियाँ पक्षले नेपालको सडक सर्भे गरेको भन्दापनि अर्कै कम्पनीलाई परामर्शदाता कम्पनी छनोट गरी डिपीआरको काम अघि बढाइसकेको जानकारी पाएको उनले बताए । ‘हामी त्यति चिनियाँ पक्ष नजिक छैनौं, केहि कुराको जानकारी पाएपनि सतहमा पाइने हो,’ उनले भने, ‘पहिले सडक सर्भे गरेको भन्दा पनि अर्कै कम्पनी छनोट गरी डिपीआरको काम सुरु भइसकेको जानकारी हामीले पाएका छौं ।’
नेपाली पक्षले यो परियोजना निर्माणका लागि भन्दै साइट क्लियरिङको कामसँगै रुख कटान र भवन भत्काउने काम गरिसकेको छ । यसरी साइट क्लियरको काम गर्दा यो क्षेत्र धुलाम्य र हिलाम्य बन्ने गरेको छ । नेपाली पक्षबाट हुने काम सम्पन्न भएपछि डिपीआर तयार पारी निर्माको काम गर्ने भन्दै चिनियाँ टोली ५ बर्षअघि चीन फर्केको थियो । नेपाली पक्षबाट हुनुपर्ने कामहरु सबै सम्पन्न भएको करिव १ बर्ष वितिसकेको छ । त्यतिमात्रै होइन नेपाली पक्षले साइडलेन निर्माण पनि करिब अन्तिम चरणमा पुर्याइसकेको ओझा बताउँछन् । ‘हामीले साइट क्लियरको काम गत वर्ष नै सम्पन्न गरिसकेका छौं,’ उनले भने, ‘साइडलेन कालोपत्रे गर्ने कामपनि चालु आर्थिक बर्षको अन्त्यसम्म सकिनेछ ।’
यसअघि पटकपटकको आग्रहलाई बेवास्ता गर्दै आएको चिनियाँ पक्षले गत मंसिरमा भएको प्रधानमन्त्रीको चीन भ्रमणले काम शुरु गर्ने आशा गरिएको थियो । तर, त्यो भ्रमणपछि समेत काम अघि बढेन । करिव ५ बर्षदेखि विस्तृत परियोजना अध्ययन (डिपीआर) निर्माण गरिरहेको बताउँदै आएको चिनियाँ पक्षले हालसम्म पनि उक्त परियोजना अघि बढाउने प्रारम्भिक कामसमेत नगरेपछि नेपाली पक्षले यो आयोजना अघि बढ्ने बिषयमा सम्भावना देख्न छोडिसकेको थियो ।
तर, अब परामर्शदाता कम्पनी नै छनोट गरी डिपीआरको काम अघि बढिसकेपछि अबको केहि महिनामै काम सुरु हुने अनुमान नेपाली पक्षको छ । ‘सबै काम चाँडोचाँडो भईरहेका छन्,’ उनले भने, ‘अब निर्माण प्रक्रिया पनि चाँडै सुरु हुन्छ ।’ नेपाली पक्षले साइट क्लियर गर्नका लागि सडकको वारपार भवन भत्काउने, युटिलिटी सुधार गर्ने, बिजुलीका पोल सार्ने र सडक खाली गर्ने काम गर्दा कलंकीदेखि महाराजगंजसम्म करीब साढे ८ किलोमिटर सडकखण्डमा ओहोरदोहोर गर्ने यात्रुले पछिल्ला ५ बर्षदेखि हिलो र धुलोको कहर झेल्दै आउनुपरेको छ । त्यतिमात्रै होइन त्यो सडक आसपास पसल थापेर बसेका पसले, घर बनाएर बसेका नागरिकहरु पनि उत्तिकै प्रताडित छन् । चीन सरकारको करिव ६ अर्ब अनुदानमा निर्माण हुने उक्त आयोजना खासगरी ५ बर्षअघि नै निर्माण सम्पन्न गर्नेगरी काम गर्ने चिनियाँ पक्षले बताएको थियो ।
यसअघि विस २०७५ सालमा पहिलो खण्ड कोटेश्वरदेखि कलंकीसम्म निर्माण सम्पन्न गरेर दोस्रो खण्डको साइट क्लियर गर्न आग्रह गर्दै चिनियाँ ठेकेदारसहितको टोली चीन फर्केको थियो । यसबीचमा कोरोना महामारीलगायतका कारण देखाउँदै करिव डेढ बर्ष अघिमात्रै उक्त क्षेत्रको साइट क्लियरको काम नेपाली पक्षले सम्पन्न गरेको थियो । पहिलो खण्डमा साइट क्लियर नगरिकनै काम सुरु गरेको चिनियाँ पक्षले काममा बाधा झेल्नुपरेपछि दोस्रो खण्डको साइट क्लियर गर्ने जिम्मा नेपाली पक्षलाई दिएर चीन फर्कको थियो । सोहीअनुसार नेपाली पक्षले हालसम्म सडकको ३१ मिटर क्षेत्रमा पर्ने सबै संरचना हटाईसकेको छ । अर्थात साइट क्लियरको काम सम्पन्न भइसकेको पनि करिव २ वर्ष बित्यो ।