Logo

रेफ्रीका कारण विवादित बन्यो नेपाल सुपर लिग, क्लबका लगानीकर्ता भन्छन्-याे हाम्रा लागि निराशाजनक र असह्य छ

रेफ्रीका कारण विवादित बन्यो नेपाल सुपर लिग, क्लबका लगानीकर्ता भन्छन्-याे हाम्रा लागि निराशाजनक र असह्य छ



काठमाडौं । नेपाल सुपर लिगमा रेफ्रीको निर्णयलाई लिएर फेरि एकपटक विवाद चुलिएको छ। हालै सम्पन्न एक खेलमा झापा एफसीका पक्षमा चौथो रेफ्रीले गोप्य रूपमा पेनाल्टीको संकेत गरेको भिडियो सार्वजनिक भएपछि एफसी चितवनले ती रेफ्रीलाई आगामी खेलहरूमा जिम्मेवारी नदिन औपचारिक अनुरोध गरेको थियो। तर सोही रेफ्रीलाई पुनः त्यही खेलमा मुख्य तथा चौथो रेफ्रीको रूपमा खटाइएकोमा क्लबले गम्भीर आपत्ति जनाएको हो।

एफसी चितवन क्लवका अध्यक्ष सचिन ढकालले फेसबुकमा स्ट्याटस् लेख्दै विगतका खेलहरूमा पनि रेफ्रीहरूबाट एकतर्फी, अस्पष्ट र विवादास्पद निर्णयहरू हुने गरेको उल्लेख छन् । उनका अनुसार यस्ता निर्णयहरूले खेलाडीहरूको मेहनत, समर्थकहरूको भावना र लगानीकर्ताको करोडौं रुपैयाँको लगानीमाथि प्रश्नचिन्ह खडा गरिरहेका छन्।

ढकालले सामाजिक सञ्जालमार्फत आफ्नो गम्भीर असन्तुष्टि व्यक्त गर्दै लेखेका छन्, ‘हामी लिगमा करोडौं लगानी गरिरहेका छौं, विश्वस्तरीय प्लेटफर्म बनाउने प्रयासमा छौं, अनि अन्त्यमा यस्तो व्यवहार पाउनुपर्छ ?’ उनले भनेका छन्, ‘यो अत्यन्तै निराशाजनक र असह्य हो। यदि प्रणालीमा सुधार आएन भने हामी ग्ल्यामर होइन, ग्रासरुट फुटबलमा केन्द्रित हुनेछौं।’

एफसी चितवनले नेपालमा गुणस्तरीय खेलाडीहरू ल्याएर नेपाली लिगको स्तर उकास्ने लक्ष्य लिएको भए पनि रेफ्री तहमै निष्पक्षता र क्षमताको अभाव रहेमा यस्ता प्रयासहरू निरर्थक हुने स्पष्ट चेतावनी दिएको छ। क्लबले तत्काल रेफ्रीहरूको स्तर सुधार गर्न वा विदेशी रेफ्रीको व्यवस्था गर्न नेपाल फुटबल संघ र आयोजकलाई आह्वान गरेको छ।

यदि यथाशीघ्र सुधार र उत्तरदायित्वको व्यवस्था नभए, क्लबले आफ्नो ध्यान बाल फुटबल र दीर्घकालीन संरचनागत विकासमा केन्द्रित गर्ने संकेत पनि दिएको छ। नेपाल सुपर लिगमा उठेको पछिल्लो विवादले रेफ्री प्रणालीको पारदर्शिता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनुहोस्