Logo

नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्दै ‘नगरकोट भ्रमण वर्ष’ आजदेखि सुरु

नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्दै ‘नगरकोट भ्रमण वर्ष’ आजदेखि सुरु



काठमाडौं । ‘नगरकोट भ्रमण वर्ष–२०८२’ आजदेखि सुरु भएको छ । नेपाली नयाँ वर्षको अवसर पारेर आजदेखि नगरकोटमा उक्त भ्रमण वर्ष आरम्भ भएको हो । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीका अनुसार चाँगुनारायणका साथै मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्त रुपमा भ्रमण वर्ष आयोजना गरिएको हो ।

आज पहिलो दिन विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी र र्‍याली प्रदर्शन गरिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत भइरहेका छन् । नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न हजारौँ पर्यटक आइतबार नगरकोट पुगेका थिए ।

‘नगरकोटमा लाखौं पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव आयोजना गरेका हौ’, नगर प्रमुख खत्रीले भने । घरेलु उत्पादनका ६० कक्ष यहाँ राखिएका छन् । भ्रमण वर्षले नगरकोटको मात्रै नभई देशकै आर्थिक विकासमा मद्दत पुग्ने उनको भनाइ छ । भ्रमण वर्षका क्रममा वर्षभरि चारवटै पालिकाको नगरकोट केन्द्रित संयुक्त कार्यक्रम सञ्चालन हुने तथा वडास्तरबाट समेत विभिन्न कार्यक्रम आयोजना गरिने छन् ।

भ्रमण वर्षमा आउने पर्यटकलाई नगरकोटका साथै भक्तपुर, काभ्रेपलाञ्चोकको मण्डन देउपुर, बनेपा, काठमाडौँको शङ्खरापुर नगरपालिकाका होटल तथा यहाँका घरबासमा खाने बस्ने व्यवस्था गरिएको छ । नगरकोट पुग्ने सबै सडक स्तरोन्नति गरिएको, चारवटै पालिकाबाट सहजै नगरकोट पुग्ने व्यवस्था गरिएको तथा काठमाडौँ–नगरकोट सिधा बस सेवा सञ्चालन गरिएको छ ।

चान्हेसिया जात्रा सम्पन्न

मध्यपुरथिमीका बासिन्दाले चान्हेसिया जात्रा मनाएका छन् । बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरी बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा सुरु गरिएको थियो । चान्हेसिया जात्रामा सर्वप्रथम दिगुटोलस्थित दिगुभैरवलाई आचाजु कर्माचार्यको घरबाट लायकुमा ल्याइन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याइएर जात्रा मनाइन्छ । त्यसपछि भने खटमा राखी बालकुमारी मन्दिरमा विराजमान गराइन्छ ।

जात्रामा थिमीको अधिंकाश घरबाट निस्केको हजारौं चिराग बालेर र धिमाय बजाई दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनः बालकुमारीबाट शङ्खधर चोक हुँदै क्वाछेंस्थित दक्षिणबाराही मन्दिर परिक्रमा गराइएको थियो। त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराई बालकुमारी मन्दिरमा ल्याई पुर्याएर पाँचपटक परिक्रमा गराएपछि सोही स्थानमा आ–आफ्नो आसनमा खटलाई राखेपछि जात्रा सम्पन्न भएको थियो । आइतबार राति सुरु भएको जात्रा आज बिहान सम्पन्न भएको हो ।

त्यसैगरी, सूर्यविनायक नगरपालिका–१ दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको घुइँचो लागेको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर महादेवको पूजा गरे शरीरका सबै रोग नाश भई गरेको काम सफल हुने जनविश्वास रहेको संस्कृतिविद् रत्न सायमीले बताए ।

किंवदन्तीअनुसार सिकारीले मारेको भँगेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनः जीवित भएर उडेको भनाइ छ । यहाँको कुण्डमा नुहाए जीउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने बूढापाकाको भनाइ छ । आज यहाँको कुण्डमा स्नान गर्न बिहानैदेखि घुइँचो लागेको छ। मन्दिरमा आज बिहानदेखि तीनवटा खटसहितको खट जात्रा यहाँका विभिन्न क्षेत्रमा परिक्रमा गराई मनाइएको छ।

त्यसैगरी, दधिकोटको चित्रपुरस्थित पूर्ण विनायक गणेश र सिरुटारको गुप्तेश्वर महादेव मन्दिरमा गणेश जात्राको खट यात्रा गरी सिन्दूर खेल्दै टोलटोलमा देवता विराजमान गराइएको खट लगेर जात्रा मनाइएको छ । सिरुटारका बासिन्दाले खटलाई बोकेर सिरुटार, बालकोट परिक्रमा गराई जात्रा मनाएको सिरुटारका प्रकाश श्रेष्ठले जानकारी दिए । यहाँका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन्।

प्रतिक्रिया दिनुहोस्