काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध बनेको छ । बिहान ४ बजेतिर खसेको पहिरोले एउटा कार समेत पुरिएको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार पूर्ण रूपमा क्षति पुगेको छ।
कार माथिल्लो भागबाट खसेको पहिरोमा पुरिएको प्रहरीले जनाएको छ। बुटवलबाट पाल्पा भैरवस्थान आउँदै गरेको कारका चालक र यात्रु भने सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ। तल्लो र माथिल्लो सिद्धबाबा क्षेत्रमा निर्माणाधीन कल्भर्टमा भासिएर एक टिपरसमेत फसेको छ । दोभान प्रहरी चौकीका अनुसार कल्भर्टमा फसेको टिपर हटाउने र सडकमा खसेको पहिरो हटाउने प्रयास भइरहेको छ।
यस क्षेत्रमा परेको वर्षाले बिहान ४ बजेदेखि नै सडक अवरुद्ध भएको स्याङ्जा गल्याङका चालक पीताम्बर भट्टराईले जानकारी दिए । सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माणका साथै अहिलेको राजमार्गमा समेत कल्भर्ट, नाली लगायत रक नेटको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ ।
पाल्पाको सिद्धबाबा क्षेत्रमा खसेको पहिरो पार गर्दै पाल्पाबाहेक गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ लगायतका गन्तव्यमा पुग्ने सवारीसाधन गुड्छन् । यस क्षेत्रमा नरम माटोमा अडिएको चट्टान सुख्खायाममा पनि खस्ने समस्या रहेको छ।