Logo

झापाबाट दुर्गा प्रसाईँ पक्राउ, काठमाडौं ल्याईँदै

झापाबाट दुर्गा प्रसाईँ पक्राउ, काठमाडौं ल्याईँदै



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका बडीगार्ड दिपक खड्कालाइ नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट पक्राउ गरेको छ। चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले पुष्टि गरेको छ।

यसअघि प्रसाईंको सचिवालयले उनले बिहीबार भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको दाबी गरेको थियो। आसाम प्रहरीले उनलाई सीमा क्षेत्रसम्म ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको बताइएको छ। नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएकाले दुवै देशमा पक्राउ परेका व्यक्तिहरूलाई अनौपचारिक रूपमा सीमामा हस्तान्तरण गर्ने अभ्यासअनुसार प्रसाईंलाई पनि सोही तरिकाले नेपाल ल्याइएको प्रहरी स्रोतले जनाएको छ।

यस क्रममा बिहीबार प्रसाईं भारतबाटै पक्राउ परेको भन्ने समाचार फैलिएपछि नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो। उनलाई झापाको गलगलिया नाकाबाट नेपाल ल्याइएको र भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रसाईंलाई नेपाल ल्याउन लागिएको खबरपछि शुक्रबार बिहान झापाको काँकडभिट्टा नाकामा उनका समर्थकहरू भेला भएका थिए। समर्थकहरूले अवरोध गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा नाका परिवर्तन गरी उनलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याउन लागिएको हो।

प्रतिक्रिया दिनुहोस्