काठमाडौं । सेयर सूचीकृत गर्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को बदमासीका कारण समस्या उत्पन्न भएको छ । नेप्सेले सीमित स्वार्थ समूहसँगको आन्तरिक समझदारीमा कानुनविपरित आईपीओमा आएका कम्पनीहरुको सेयर सूचीकृत गर्दा एउटै कोड नम्बर उपलब्ध गराउँदा समस्या उत्पन्न भएको हो ।
सामान्यतय आईपीओ आएसँगै कुनैपनि कम्पनीको प्रमोटर र पब्लिक गरी दुईथरी सेयर हुन्छन । तर, नेप्सेले सीमित स्वार्थ समूहको इच्छाअनुरुप कानुन नै बाझिने गरी एउटै कोड नम्बर दिएर सिडीएस एण्ड क्लियरिङलाई समेत एउटै आइजिन (इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर) नम्बर दिन बाध्य बनाएसँगै समस्या उत्पन्न भएको हो । ‘नियमत नेप्सेले सेयर सूचीकृत गर्दा प्रमोटर र पब्लिकका लागि छुट्छुट्टै कोड नम्बर दिएर सोहीअनुरुप सिडीएसमा दुईवटा आइजिन नम्बर क्रियट गरेर फरक–फरक क्लस्टरमा सेयर राख्नुपर्छ,’ एक लगानीकर्ताले भने, ‘तर कतिपय अवस्थामा नेप्सेले कानून र स्वार्थ दुबै बाझिने गरी सीमित कम्पनीलाई एउटै कोड नम्बर दिएर बदमासी गरेको छ ।’
विशेषगरी नेप्सेकै कर्मचारीका कारण अहिले ठूलो बदमासी भैरहेको समेत ती लगानीकर्ताले जानकारी दिए । ‘केही समयअघिसम्म सिडीएससीमा सबै संचालक नेप्सेबाटै प्रतिनिधित्व गर्थे भने उनीहरुले नै नेप्सेमा सेयर सूचीकृत गर्दा पब्लिक र प्रमोटर सेयरका लागि एउट मात्र कोड दिने र सोहीअनुरुप सिडीएससीमा पनि एउटै आइजिन दिएर दुबै सेयरलाई एउटै भाँडो (क्लस्टर)मा राख्दै आएका थिए,’ ती लगानीकर्ताले भने, ‘तर त्यसरी दुबै सेयरलाई एउटै भाँडोमा राख्दा स्वार्थ समूहले लकइन नखुल्दै आफुुसँग भएको सेयर बिक्री गरेका छन् ।’
नेप्सेका कारण लकइन नखुल्दै प्रमोटर सेयर बिक्री
कानूनत जलविद्युतलगायत रियल सेक्टरका कम्पनीको लकइन अवधि ३ वर्षको रहेको छ । तर, नेप्सेले निहित स्वार्थका लागि कतिपय कम्पनीलाई कानून बाझिनेगरी सेयर सूचीकृत गर्दा नै प्रमोटर र पब्लिक कम्पनीलाई एउटै कोड र सोही नुरुप सिडीएसले एउटै आइजिन नम्बर दिँदा त्यस्ता कम्पनीको प्रमोटर सेयर लकइन अबधि नखुल्दै दोस्रो बजारमा पब्लिकसरह खरिदबिक्री भएको पाइएको छ । ‘कुनै पनि सेयरको लकइन खुलेको छ वा छैन, त्यस्ता सेयर दोस्रो बजारमा बिक्रीका लागि दिन मिल्छ वा मिल्दैन भनेर सम्बन्धित कम्पनीको आरटीएसले हेर्ने हो,’ एक ब्रोकरले भने, ‘तर पछिल्लो समय नेप्से र आरटीएसको मिलेमतोमा लकइन नै नखुलेको सेयर बिक्री हुँदै आएको छ जुन एकदमै ठूलो अपराध हो ।’
सूचीकृत गर्दा नै पैसाको चलखेल
सेयर सूचीकृत गर्दा नेप्सेले पब्लिक र प्रमोटर सेयरलाई फरक–फरक कोड नम्बर दिएर सोहीअनुरुप सिडीएससीले पनि दुई थरी आइजिन नम्बर दिनुपर्छ । तर, नेप्सेका कर्मचारीले स्वार्थ केन्द्रित समुहसँग पैसा लिएर पछि लकइन नखुल्दै सेयर खरिदबिक्री गर्न मिल्ने गरी एउटै कोड र एउटै आइजिन नम्बर दिँदै आएको पाइएको छ । ‘कानून त सेयर सूचीकृत गर्दा पब्लिक र प्रमोटर सेयरका लागि फरक–फरक कोड र आइजिन दिएर लकइन खुलेपछि नेपाल धितोपत्र बोर्डलाई जानकारी दिएर वा अनुमति दिएर एउटै कोड र आइजिन बनाएर दोस्रो बजारमा बिक्री गर्नुपर्छ,’ एक सूचीकृत कम्पनीका संचालकले भने, ‘तर नेप्सेले सेयर सूचीकृत गर्दा त्यस्ता कम्पनीसँग पैसा लिएर एउटै कोड र सिडीएसीबाट एउटै आइजिन दिँदै आएका छन् र जसका कारण गैरकानूनी रुपमा लकइन नखुल्दै सेयर बिक्री हुँदै आएको छ ।’
केही समयअघि मात्रै लकईनमा रहेको एउटा जलविद्युत कम्पनीको प्रमोटरतर्फको बोनस सेयर दोस्रो बजारमा बिक्री भएको समेत ती संचालकले जानकारी दिए । साथै नेप्सेले पैसाकै चलखेलमा अहिले पनि सेयर सूचीकृत गर्दा दुवै क्लस्टरका सेयरलाई एउटै कोड नम्बर दिएर सिडीएससीलाई एउटै आइजिन नम्बर दिनका लागि बाध्य पार्दै आएको समेत उक्त स्रोतले जानकारी दिएको छ ।
अख्तियार र सेबोनले ल्यायो अनुसन्धानको दायरामा
नेप्सेको बदमासीका कारण लकइन नखुल्दै प्रमोटर सेयर बिक्री भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनको दायरामा ल्याएको छ । नेप्सले पैसाको चलखेलमा एउटै कोड दिएको र तत्कालीन अवस्थामा सिडीएससीमा समेत नेप्सेकै कर्मचारीले पूर्ण रुपमा संचालकको रुपमा प्रतिनिधित्व गर्ने भएका कारण सिडीएससीबाट पनि एउटै आइजिन नम्बर दिएका कारण त्यसरी एउटै कोड र आइजिन नम्बर पाएका कम्पनीले लकइन नखुल्दै प्रमोटर बिक्री गरेका छन्,’ सम्बद्ध स्रोतले भन्यो, ‘सो बिषयमा अहिले अख्तियार अनुसन्धान आयोगले छनविनको दायारामा ल्याएको भने धितोपत्र बोर्डले पनि सीडीएससीलाई पत्र काटेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।’ सो विषयमा सम्बन्धित कम्पनीको आरटीएस तत्कालीन अवस्थामा सेयर सूचीकृत गर्दा नेप्से र सिडीएसीमा रहेर एउटै कोड र आइजिन नम्बर दिने कर्मचारीहरु जवाफदेही हुने समेत उक्त स्रोतले जानकारी दिएको छ ।