काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ ।
बैठकबाट केही नियुक्ति, बढुवालगायतका निर्णय हुने सम्भावना रहेको छ । बैठकमा थाइल्याण्ड भ्रमणको विषयमा पनि समीक्षा हुनेछ । आजको बैठकमा गभर्नर नियुक्ति र आन्दोलनरत शिक्षकको मागको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । आजको मन्त्रिपरिषद बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना छ । महाप्रसाद अधिकारी विदा भएपछि अहिले राष्ट्र बैंक गभर्नरविहीन छ ।
२०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका अधिकारी पाँच वर्षे कार्यकाल सकेर यही चैत २२ गते विदा भएका हुन् । मन्त्रिपरिषद् बैठकपछि आजै साँझ पाँच बजे विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सत्रौँ बैठक पनि प्रधामन्त्री कार्यालय सिंहदरबारमै बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।