Logo

सुनको उच्च मूल्यले घटायो विक्री, सेयरमा जस्तै सुनमा पनि लगानीका लागि बाटो खोल्न माग

सुनको उच्च मूल्यले घटायो विक्री, सेयरमा जस्तै सुनमा पनि लगानीका लागि बाटो खोल्न माग



काठमाडौं । सुनको मूल्य लगातार बढ्दा विक्री भने घटेको छ । पछिल्ला पाँच आर्थिक वर्षमा नेपालमा सुनको मूल्यमा देखिएको निरन्तर वृद्धि र अन्तर्राष्ट्रिय बजारमा आएको अस्थिरताका कारण विक्री प्रवृत्ति कमजोर देखिएको हो । मूल्य उकालो लागिरहँदा सुनमा लगानीकर्ताहरु आकर्षित हुनुपर्नेमा नेपालमा भने त्यस्तो नभएको व्यवसायीहरु बताउँछन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक, भन्सार विभागका आँकडा र बजारको अवस्थाका आधारमा हेर्दा आयातमा उतारचढाव देखिएपनि मूल्य वृद्धिले सुनको माग भने घटेकोे देखिन्छ । आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको विवरणअनुसार नेपालले वार्षिक औसतमा २ हजार ९ सय देखि ५ हजार किलोसम्म सुन आयात गरेको पाइन्छ । यो समयमा सुनको औसत मूल्य भने प्रतितोला ६५ हजारदेखि १ लाख ४ हजार रुपैयाँबीच रहेको देखिन्छ । यो मूल्य आयातित सुनको मूल्य हो । नेपालमा भित्रिएसँगै यो मूल्यमा भन्सार, बीमा, सेवाशुल्कलगायत थपिन्छ । जसका कारण सुनको बजार मूल्य भने माथिको हिसावको तुलनामा अझै उच्च थियो, जसको प्रभाव यसको विक्रीमा देखियो ।

कोरोना महामारीका कारण आर्थिक वर्ष २०७७/७८ मा झन् बढी असर देखियो । सरकारले लगाएको लकडाउनले गर्दा सुनचाँदी पसलहरू बन्द भए र व्यापार लगभग ठप्प भयो । यसले आयात र विक्री दुवैमा गम्भीर असर पुर्यायो । सो वर्षमा केवल ३ हजार ९ सय २५ किलो सुन आयात भयो, जुन अघिल्लो वर्षको तुलनामा थोरै वृद्धि हो तापनि व्यापारिक गतिविधि निकै सुस्त थियो । त्यसैबेलादेखि नेपालीहरुको क्रयशक्तिमा ह्रास आउने तर सुनको मूल्य लगातार उकालो लाग्ने प्रवृत्तिले यसको विक्रीमा अत्याधिक ह्रास आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् ।

विस २०७८/७९ मा भने सुनको मूल्यले नयाँ कीर्तिमान राख्यो । सो वर्ष औसत आयात ५ हजार ५३ किलोसम्म पुग्यो, तर सुनको मूल्य प्रतितोला झण्डै ८२ हजार रुपैयाँ पुग्दा उपभोक्ताले सुन कम खरीद गरे । यसैबेला लगन, तीज, तिहारलगायतका सुन धेरै विक्री हुने समयमै सुनको विक्री घटेको शाक्य बताउँछन् । बजारमा सुनको मूल्य १ लाख ५ हजार रुपैयाँ नाघेको अवस्थामा उपभोक्ताले खरीद घटाएको व्यवसायीहरू बताउँछन् ।

विस २०७९/८० मा पनि यो प्रवृत्ति दोहोरियो । भन्सार विभागको तथ्यांकअनुसार सो वर्ष २ हजार ९ सय १७ किलो सुन आयात भयो, जसको कुल मूल्य झण्डै २२ अर्ब ३५ करोड रुपैयाँ थियो । यो वर्ष बजार मूल्य दैनिक रूपमा उतारचढाव भइरह्यो र नेपाल सुनचाँदी व्यवसायी महासंघले दैनिक औसत विक्री २० किलोभन्दा तल झरेको बताएको थियो । व्यवसायीहरूका अनुसार उच्च मूल्यका कारण विवाह, चाडपर्व जस्ता परम्परागत अवसरहरूमा पनि सुनको बिक्रीमा उल्लेखनीय गिरावट देखियो ।

विस २०८०/८१ मा भने सरकारले सुनको आयातमा लाग्ने भन्सार शुल्क घटाएपछि केही सकारात्मक परिवर्तन देखिएको थियो । गत आर्थिक बर्ष २५ अर्ब ९५ करोड रुपैइाँ बराबरको झण्डै २ हजार ९ सय किलो सुन आयात भयो यसै वर्ष छापावाला सुनको मूल्य एकपटक १ लाख ५२ हजार रुपैयाँ प्रतितोलासम्म पुगेको थियो । यद्यपि मूल्य अझै महँगो भएपनि आयात र विक्री दुबैमा केही सुधार देखिन थालेको व्यवसायीहरूले बताएका थिए । यद्यपि पछिल्लो समय नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा सुनको माग अझै पाँच वर्ष पहिलेको जस्तो भने छैन् । यसको प्रमुख कारणमा युवा पुस्ता लगानीको वैकल्पिक साधनतर्फ आकर्षित हुँदै गइरहेका छन् । यस्ता परिवर्तित प्रवृत्तिका बीच, बजारमा देखिएको मूल्य अस्थिरता र अन्तर्राष्ट्रिय बजारमा सुनको माग आपूर्ति सन्तुलनको प्रभावले नेपाली बजारमा पनि असर पारिरहेकै छ ।

खासगरी विश्वका विकसित राष्ट्रका लगानीकर्ताहरुले लगानीका नयाँ नयाँ आयामहरुको खोजी गरी लगानी गरिरहेका छन् । क्रिप्टोकरेन्सी, बिटकोइन, सुन, चाँदीलगायतका आयामहरु यसका मुख्य उदाहरणहरु हुन् । तर, नेपालमा यस्ता लगानीका माध्यमहरुलाई सही ढंगले हेरिँदैन, सुनमा पनि विश्व बजारमाजस्तो लगानी गर्ने प्रवृत्ति नेपालमा मौलाइनसकेको शाक्यले बताए । ‘सुनको मूल्यवृद्धिलाई नियाल्दा नेपालमा पनि यसमा लगानी गर्ने लगानीकर्ताको ओइरो लाग्नुपर्ने थियो,’ उनले भने, ‘तर, नेपालमा यसमा लगानी गर्ने निश्चित कानुन र सुविधासँगै सोहीअनुसारको व्यवस्था छैन, जसका कारण यसलाई लगानीको माध्यम बनाउने नेपाली ज्यादै न्यून छन् ।’ उनले नेपाल सरकारसमक्ष सेयर बजारजसरी सुनको खरिदविक्री मार्केट पनि अघि बढाउने नीति बनाउन आग्रह गरिएपनि सोहीअनुसार सरकारले ध्यान नदिँदा सुनमा लगानी गर्ने लगानीकर्ताहरुलाई आकर्षित गर्न नसकिएको बताए ।

चालु आर्थिक बर्षको कुरा गर्दा हालसम्म अर्थात फागुन मसान्तसम्म नेपालमा १४ अर्ब ३७ करोड ११ लाख रुपैयाँ बराबरको १ हजार १ सय ८८ किलो सुन आयात भएको देखिन्छ । यसरी हेर्दा यस अवधिमा आयात भएको सुनको औसत मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँ आसपास देखिन्छ । तर, पछिल्लो महिना अर्थात चैतमा मात्रै सुनको मूल्यमा तीव्र उत्तारचढाव देखियो । विश्व बजारकै कुरा गर्दा पनि गएको पुष १५ गतेदेखि सुनको मूल्यमा एकाएक उकालो लागेको अवस्था छ । त्यसबेला विश्व बजारमा सुनको मूल्य प्रति औंस २ हजार ६ सय आसपासमा कारोबार भईरहेको थियो । त्यसपछि विस्तारै बढ्दै विश्वभर सुनको मूल्य हालसम्मकै उच्च विन्दु अर्थात चैत १९ गते ३ हजार १ सय २६ को विन्दुमा पुग्यो ।

यसरी हेर्दा ३ महिनामा मात्रै विश्व बजारमा सुनको मूल्य प्रतिऔंस ५ सय डलरले बढिसकेको देखिन्छ । यस्तै यसै अवधिमा नेपालमा भने सुनको मूल्य गत पुष १५ गते प्रतितोला १ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको थियो । विश्वबजारमा मूल्य बढेअनुसार नै मूल्य नेपालमा पनि बढ्दा चैत २१ गतेका दिनसम्म सुनको मूल्य हालसम्मकै उच्च विन्दु अर्थात १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो । अर्थात यस अवधि ३ महिनामा मात्रै नेपालमा सुनको मूल्य प्रतितोला २९ हजार ७ सय रुपैयाँले घटेको छ ।

तर, पछिल्ला केहिदिनदेखि सुनको मूल्यमा उच्च गिरावट आइरहेको छ । विश्वबजारमा चैत १९ गते र नेपाली बजारमा चैत २१ गते रेकर्ड स्तरमा पुगेको सुनको मूल्य त्यसयता हालसम्म उच्च मूल्यले घटेको देखिन्छ । सुनको मुल्य उत्तारचढाव मूल्यांकन गर्ने गोल्डप्राइसका अनुसार गएको अप्रिल दुई अर्थात चैत १९ यता सुनको मूल्य प्रतिऔंस करिव १ सय डलरले घटेर ३ हजार ३० प्रतिऔंसमा झरेको छ । यहि समयमा नेपालमा गत बिहीबार अर्थात २१ गतेयता आईतबारसम्म मात्रै प्रतितोला ५ हजार ८ सयले घट्दै १ लाख ७४ हजार ३ सय रुपैयाँमा झरेको छ । एकाएक पछिल्लो हप्ता सुनको मूल्य ओरालो लाग्नुमा अमेरिकाले विश्वका धेरै देशहरुलाई लगाएको ट्यारिफ र यसले निम्त्याएको भूराजनीतिक तनाव भएको मानिएको छ । यद्यपि केहि समयपछि भने सुनको मूल्यले अझै लय समात्दै उकालो लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्