काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको दोस्रो बर्षमै केन्द्रीय बैंकको स्वायत्तता माथि हस्तक्षेप भएको आरोप लगाएका छन्।
शुक्रबार आफ्नो कार्यकालको विदाईका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले बैंकको स्वतन्त्रतामा अनावश्यक दबाब आइरहेको उल्लेख गर्दै संस्थागत स्वायत्तताको रक्षाका लागि आफू अडिग रहेको बताए । उनले नेपाल राष्ट्र बैंक सञ्चालनमा विश्वव्यापी मान्यता तथा मर्मअनुसार स्वायत्तता कायम गर्नुपर्ने भन्दै पछिल्लो समय सरकार तथा केही निकायबाट बैंकको नीतिगत स्वतन्त्रतामाथि असर पर्ने गरी हस्तक्षेप गरिएको दाबी गरे।
गभर्नर अधिकारीले केन्द्रीय बैंकको स्वायत्तता जोगाउन सर्वोच्च अदालत, न्यायाधीशहरू, वरिष्ठ विद्वान न्यायाधिवक्ताहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै धन्यवादसमेत व्यक्त गरे। उनले कानुनी रूपमा बैंकको स्वायत्तता सुनिश्चित गर्न अदालतले दिएको निर्देशनले वित्तीय प्रणालीको स्थायित्व कायम राख्न सहयोग पुगेको बताए।
यस्तै उनले बैंकको स्वायत्तता जोगाउनका लागि पूर्वगभर्नरहरू, अर्थशास्त्रीहरू, सञ्चार जगत तथा आम नागरिकले निरन्तर खबरदारी गर्दै आएको स्मरण गराए। उनले देशको अर्थतन्त्र स्थिर राख्नका लागि केन्द्रीय बैंकको स्वतन्त्र भूमिका अपरिहार्य रहेको भन्दै नीति निर्माणका क्रममा बाह्य हस्तक्षेप नगर्न सरोकारवालाहरूलाई आग्रह गरे।
उनले भने, ‘केन्द्रीय बैंकको मूल उद्देश्य वित्तीय स्थायित्व कायम गर्नु हो। बैंकको नीति निर्माणमा हस्तक्षेप हुँदा दीर्घकालीन असर पर्न सक्छ।’ उनले देशको आर्थिक अवस्थालाई मजबुत बनाउन राष्ट्र बैंकले आफ्नो स्वायत्तता अक्षुण्ण राख्दै आवश्यक नीति तथा कार्यक्रम ल्याइरहने प्रतिबद्धता जनाए।