काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पदमुक्त गरिनुमा विद्युत महसुल बक्यौता उठाउने आफ्नो दृढ निर्णय नै प्रमुख कारण रहेको बताएका छन्।
निरन्तर हस्तक्षेप भइरहेको दाबी गर्दै घिसिङले आफू कुनै व्यक्ति विशेषको निर्देशन नमानेकै कारण मन्त्री तथा मन्त्रिस्तरीय निर्णयमार्फत गलाउने प्रयास गरिएको खुलासा गरे। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बक्यौता नउठाउने गरी आएका निर्देशनलाई अस्वीकार गर्दा नै आफू पदमुक्त हुनुपरेको उल्लेख गरे।
घिसिङका अनुसार, महसुल तिर्नुपर्ने उद्योगी–व्यवसायीहरू न्यायिक प्रक्रियामा जानुको साटो शक्तिकेन्द्र धाउने रणनीतिमा लागे। उनले भने, ‘महसुल तिर्नुपर्नेहरू प्राधिकरणकै न्यायालयमा जानुपर्ने हो, तर तिनीहरू राजनीतिक प्रभावको खोजी गर्दै शक्तिकेन्द्र धाउन थाले।’ उनले कालान्तरमा यसको हिसाब प्राधिकरणलाई नै दिनुपर्ने उल्लेख गरे।
उनले नेपाली जनताले यस विषयमा सचेत रहनुपर्ने र निरन्तर खबरदारी गरिरहनुपर्नेमा जोड दिए। उनले भने, ‘विद्युत महसुल तिर्नुपर्नेले ताकेता गर्दा होइन, कानुनी प्रक्रियाबाट हिसाब चुक्ता गर्नुपर्छ।’
घिसिङले आफ्नो कार्यकालप्रति असन्तोष हुनुपर्ने कुनै कारण नरहेको बताए। उनले प्राधिकरणको वित्तीय अवस्था सुधार गर्दै देशलाई लोडसेडिङमुक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गराए।
उनले निष्कर्षमा भने, ‘मैले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गरें। विद्युत महसुल तिर्नुपर्नेहरू जसरी पनि तिर्नैपर्छ, त्यसबाट उम्किन खोज्ने जोसुकै भए पनि यसबारे जनताले खबरदारी गर्नुपर्छ।’