Logo

तीनकुने घटनामा पूर्वराजा दोषी, उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

तीनकुने घटनामा पूर्वराजा दोषी, उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनमत नभड्काउन चेतावनी दिएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले पूर्व राजा शाहले गरेको श्रृङखलाबद्ध गरेको कामको उल्लेख गर्दै संविधानको उलंङ्घन गरेको बताए ।

उनले चैत १५ गते समाजवादी मोर्चा र तीनकुनेमा कार्यक्रम भएको बताए । उनले भने, ‘कथित जनकमाण्डर तोकेर पूर्वराजाले हिंसा भड्काउने काम गर्नुभएको छ । पूर्व राजासँग भएको सहमति शाहले उलंघन गर्नु भएको छ ।’ तीनकुने घटनामा संलग्नहरुमाथि जोसुकैलाई प्रशासनिक कारबाही गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाए ।

‘काठमाडौंको तीनकुनेको कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशंका र द्विविधा समेत थियो । त्यस कार्यक्रमका उद्देश्य जे बताइँदै थियो, त्यसमाथि नै आशंकाका आधार थिए । द्विविधा यस अर्थमा थियो, त्यसका आयोजक मध्ये केही नाम यस सम्मानित सदनमा उपस्थित दलका नेताहरुको पनि थियो । तर तीनकुनेका आयोजकहरुले पहिले प्रशासनलाई जाकारी गराए अनुसार सभा गरेनन्, उत्तेजक प्रदर्शन र अराजनीतिक नारा सहित भीड सलबलाउन थाल्यो। सभा वा मन्तव्य हैन, प्रदर्शनको कथित ‘जनकमाण्डर’ आफैंले हाँकेको गाडी प्रहरीमाथि नै चढाउने गरी निषेधित क्षेत्र तोड्न दौडाइयो। भीड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीको बन्दुक खोस्ने, गुण्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता बारदात सुरु गरियो ।’

उनले भने, ‘हुँदा हुँदा निजी व्यक्तिको घर, सार्वजनिक भवन, सञ्चार गृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुंगामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेण्टल स्टोरहरु लुटपाट गर्ने जस्ता आपराधिक घटना सुरु गरियो। निजी व्यक्तिको घरमा आगजनी मात्रै गरिएन मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंस्रक, आतातायी कार्य भयो । अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी गर्ने र प्रज्ज्वलनशील पदार्थमा आगो लगाई बिस्फोट गराउने आतङ्ककारी काम समेत भयो। प्रहरीका सवारी साधन मात्रै हैन, आगो निभाउन आएका दमकलमाथि आक्रमण गरियो। यी सबै निन्दनीय र खेदजनक कार्य हुन् । यस्ता घटनामा संलग्नहरुमाथि जोसुकै होउन् जुनसुकै कभरमा किन नहोउन्, कडा प्रशासनिक कार्वाही हुन्छ ।’

प्रधानमन्त्री ओलीले घटनामा संलग्नहरुमाथि छानबिन सुरु भएको जानकारी दिए । उनले भने, ‘यसका योजनाकार को हुन् र को को संलग्न छन् ? सरकारले यस सन्दर्भमा छानबिन र अनुसन्धान गरिरहेको छ ।’ उनले तीनकुने घटनाको पृष्ठभूमिमा करिव एक वर्ष अघिदेखिको घटनालाई अध्ययन गर्नु आवश्यक भएको बताएका छन् । ‘सरकार, व्यवस्था र संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन एउटा तत्व त्यसै बेलादेखि क्रियाशील थियो । मौका खोजीरहेको थियो । धर्म, सँस्कृति, परम्पराजस्ता संबेदनशील विषयमा अनावश्यक टिप्पणी गरी साम्प्रदायिक सद्भाव विथोल्ने र खास समुदायमाथि आक्रमणमा उक्साउने काम गर्दै थियो । ऋण तिर्न पर्दैन भन्दै ऋणिहरुको भावनात्मक संवेदना माथि खेल्ने र बैंक वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा त्यो तत्व सक्रिय थियो ।’

उनले भने, ‘यसैबीच तत्कालिन राजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देउ’ भन्दै बक्तव्यवाजी गर्नुभयो । त्यसको लगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरियो। फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो । चैत १४ गते समाज विथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित ‘जनकमाण्डर’ तोक्नु भयो र हिंसात्मक वारदातका लागि खटाउनु भयो ।’

प्रतिक्रिया दिनुहोस्