काठमाडौं । राप्रपा नेता रवीन्द्र मीश्र र सांसद धवलशमशेर जबरालगायत ११ जनालाई राज्यविरुद्धको मुद्धामा अनुसन्धान हुने भएको छ । चैत १५ गते शुक्रबार तीनकुने घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीले उनिहरुलाई राज्यविरुद्धको अपराधको आरोपमा थुनामा राख्ने अनुमतिका लागि जिल्ला अदालतमा पेस गरेको हो ।
ती बाहेक अरु ३१ जनालाई आपराधिक उपद्रव र संगठीत अपराधको अभियोगमा म्याद थप्न अदालतमा पेश गरिएको उनले बताए । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख अपिलराज बोहराका अनुसार, घटनामा संलग्नहरूका बारेमा सरोकारवालाहरूसँग जाहेरी र अरु सूचनाका लागि सार्वजनिक आह्वान भएको छ ।
प्रहरीले करिव एक सय जनाको हाराहारीमा पक्राउ गरेपछि अहिलेका लागि ४२ जनालाई मात्रै अदालतमा पेस गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको हो । यस्तै राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल हाजिरी जमानीमा छुटेका छन् । उनलाई प्रदर्शनस्थलमा नदेखिएको भन्दै प्रहरीले हाजिरी जमानीमा छाडेको हो ।