Logo

राष्ट्रसंघसँग प्रविधि र दिगो पर्यटनमा सहयोग गर्न नेपालको आग्रह

राष्ट्रसंघसँग प्रविधि र दिगो पर्यटनमा सहयोग गर्न नेपालको आग्रह



काठमाडौँ । नेपालले संयुक्त राष्ट्रसंघसँग प्रविधि र दिगो पर्यटनमा सहयोगका लागि आग्रह गरेको छ ।

नेपालका पर्यटकीय गन्तव्यको प्रवर्द्धन कार्यक्रमअन्तर्गत युरोप यात्रामा रहेको नेपाल पर्यटन बोर्डको टोलीले स्पेनको मड्रिडमा संयुक्त राष्ट्रसंघिय पर्यटन अधिकारीहरूसँगको छलफलमा दिगो पर्यटनका लागि सहयोगको आग्रह गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसंघ पर्यटन मुख्यालयमा भएको छलफलमा विगतमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै, प्रविधि, डिजिटल इनोभेसन र दिगो पर्यटन विकासका क्षेत्रमा थप सहकार्यका लागि आग्रह गरेको हो ।

सचिव सिंहले भने, “नेपाल पर्यटन रणनीतिक योजना २०१६(२०२५० र आइटिबी बर्लिन मन्त्रिस्तरीय बैठक, २०२५ मा नेपालको सहभागितालाई स्मरण गर्दै नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल इनोभेसन र दिगो पर्यटन विकासका क्षेत्रमा थप सहकार्यको आवश्यकता छ । यसका लागि हामी युएन टुरिजमलाई सहयोगका लागि आग्रह गर्दछौँ ।”

द्विपक्षीय प्रतिनिधि मण्डलको बैठकमा राष्ट्रसंघ पर्यटनका एसिया-प्रशान्त क्षेत्रीय विभाग निर्देशक ह्यारी हुआङले नेपाली प्रतिनिधि मण्डलको पहिलो पटक संयुक्त राष्ट्रसंघ पर्यटनको मुख्यालय भ्रमणलाई ऐतिहासिक क्षणको रूपमा उल्लेख गर्दै नेपाललाई पर्यटन विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाललाई राष्ट्रसंघिय पर्यटन कार्यक्रममा सक्रिय रूपमा सहभागी हुन, प्राथमिकताहरू उल्लेख गर्दै औपचारिक प्रस्ताव पेस गरेमा थप सहयोग गर्न तयार रहेको उल्लेख गरे ।

पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मीले नेपाल–संयुक्त राष्ट्रसंघिय पर्यटनसँगको सम्बन्धलाई थप सशक्त बनाउन नेपाल अब राष्ट्रसंघ पर्यटनसँग अझ घनिष्ठ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालको पर्यटन नीति सुधार, समावेशी पर्यटन प्रवर्द्धन र पर्यटन लाभको समान वितरणका लागि राष्ट्रसंघ पर्यटनको सहयोग आवश्यक रहेको बताए ।

नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरूले नेपालको साहसिक पर्यटन, इको-टुरिजम र ग्रामीण पर्यटनका सम्भावनाबारे चर्चा गर्दै नेपाललाई विश्व पर्यटन क्षेत्रमा अझ उचाइमा पु¥याउन संयुक्त परियोजनाहरू आवश्यक रहेकामा जोड दिए ।

उक्त बैठकले नेपाल-राष्ट्रसंघिय पर्यटन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ । यसअघि नेपाल पर्यटन बोर्डले स्पेनस्थित नेपाली दूतावाससँग सहकार्य गर्दै गन्तव्य प्रवर्द्धन कार्यक्रम आयोजना गरेको थियो । नेपाल र स्पेनबीच पर्यटन सम्बन्धलाई सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यक्रममा टुर तथा ट्राभल व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता थियो ।

कार्यक्रममा स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले नेपाल-स्पेनबीचको लामो समयदेखि रहिआएको सम्बन्ध र हरेक वर्ष नेपाल भ्रमण गर्ने स्पेनी पर्यटकहरूको बढ्दो सङ्ख्याबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्