काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले जनता र उद्योगी व्यवसायीको जनधनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन माग गरेको छ । महासंघले शुक्रबार राजावादी आन्दोलनको नाममा भएका अराजक गतिविधि र आक्रमणको भर्त्सनासमेत गरेको छ ।
विगतदेखि नै नेपालका उद्योगी व्यवसायीमाथि आक्रमण गर्दै वित्तीय संघसंस्थालाई ध्वस्त बनाई मुलुकको अर्थव्यवस्थालाई अप्ठ्यारो पार्न बारम्बार आक्रमणहरु भैरहेको महासंघले उल्लेख गरेको छ । त्यसको भित्री उद्देश्य उद्योगी व्यवसायी र जनतालाई आर्थिक रुपमा कमजोर बनाई आक्रमक गराउने र राज्यलाई असफल तुल्याई मुलुकलाई उल्टो गतिमा हिडाउन खोज्ने पश्चगामी सोच र योजना पूर्व राजावादीहरुको थियो भन्ने कुरा शुक्रबार दिउँसोको तिनकुनेमा आफुलाई राजावादी भन्नेहरुको अपराधिक गतिविधिले छर्लङग बनाएको महासंघका अध्यक्ष भागिरथ सापकोटाले बताए ।
‘पूर्व राजावादीहरुको अराजक समूहको सर्वसाधारण नागरिकका घर तथा व्यवसायिक भवनमा तोडफोड गरी आगजनी गर्ने, सञ्चारगृह माथि तोडफोड तथा उद्योगी व्यवसायी र सर्वसाधारण नागरिकका सम्पती लुटपाट गर्नेजस्ता आपराधिक क्रियाकलापहरु निन्दनीय छन्’, सापकोटाले भने ।
महासंघले सधै उद्योगी व्यवसायीले स्वच्छ, पारदर्शी एवं भयरहित वातावरणमा व्यवसाय गर्ने वातावरण निर्माण गर्न सबै सरोकारवाला पक्षसँग हार्दिक अनुरोधसमेत गरेको छ । ‘यस्ता गतिविधिहरुको विरुद्ध सचेत हुँदै व्यवसायिक जगत र जनसमुदायको जनधनको सुरक्षाका लागि सम्पूर्ण सरोकारवाला पक्षलाई सचेत हुन महासंघ हार्दिक अपिल गर्दछ । साथै घटनामा संलग्न सम्पूर्ण अपराधीलाई कानुनी दायरामा ल्याई तत्काल कारबाही गर्न तथा सम्पूर्ण जनसमुदाय र उद्योगी व्यवसायीको जनधनको सुरक्षाको माग गर्दै शान्तिसुरक्षाको प्रभावकारी व्यवस्था मिलाउन सरकारसँग जोडार माग गर्दछ । साथै गणतन्त्रको रक्षा र सुदृढिकरणका लागि समेत सबै सरोकारवालासंग हार्दिक अपिल गर्दछौ’, महासंघले बताएको छ ।