Logo

चिनी उत्पादन अनुपातमा ह्रास, एक क्विन्टल उखुबाट ८.७२ केजीमात्रै उत्पादन

चिनी उत्पादन अनुपातमा ह्रास, एक क्विन्टल उखुबाट ८.७२ केजीमात्रै उत्पादन



काठमाडौं । गत वर्षको तुलनामा उखुबाट चिनी उत्पादन अनुपातमा ह्रास आएको यहाँको गौशाला–१ स्थित एभरेष्ट चिनी उद्योगले जनाएको छ । सो उद्योगका अनुसार चालु आर्थिक वर्षमा एक क्विन्टल उखुबाट ८.७२ केजी चिनी उत्पादन भएको छ । गत वर्ष सोही परिणामको उखुबाट ९.११ केजी चिनी उत्पादन भएको उद्योगका महाप्रब्धक सुरेन्द्र शुक्लाले बताए ।

उद्योगले यस वर्ष लक्ष्यभन्दा करिब चार लाख क्विन्टल कम उखु ‘क्रसिङ्’ गरेको छ । गत मंसिर २६ गते सुरु भइ फागुन मसान्तसम्म सञ्चालनमा रहेको उद्योगले ३१ लाख चार हजार १६३ क्विन्टल उखु क्रसिङ् गरेर दुई लाख ७० हजार ५८८ क्विन्टल चिनी उत्पादन गरिएको शुक्लाले बताए । गत वर्ष उद्योगले २९ लाख चार हजार ५१२ क्विन्टल उखु क्रसिङ् गरेर दुई लाख ६४ हजार ५९१ क्विन्टल चिनी उत्पादन गरेको थियो ।

उखु क्रसिङ् र चिनी उत्पादनको परिमाण बढी देखिएपनि चिनी उत्पादनको अनुपात घटेको उद्योगले जनाएको छ । यस वर्षको उखुबाट चिनी उत्पादन अनुपात घट्नुको कारण खोजि भइरहेको उनले बताए । किसान भने हिउँदमा पानी नपर्दा चिनी उत्पादन घटेको हुनसक्ने बताउँछन् । गत बर्खामा पनि अनुकूल वर्षा नहुनुले उत्पादन अनुपात घटेको हुनसक्ने बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतोले बताए ।

यस वर्ष उद्योगले ३५ लाख क्विन्टल उखु क्रसिङ् गरी तीन लाख १५ हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य लिएको थियो । तर उखु अभाव भएपछि चैतभरि चल्ने क्रसिङ् फागुन मसान्तसम्म मात्र चलेको महाप्रबन्धक शुक्लाले जानकारी दिए । किसानले उखुको उचित मूल्य नपाउँदा उत्पादन वृद्धि हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्