Logo

तीनकुने क्षेत्रको कर्फ्यु हटाइयो, गृहमन्त्री लेखकले अनुगमन गर्दै

तीनकुने क्षेत्रको कर्फ्यु हटाइयो, गृहमन्त्री लेखकले अनुगमन गर्दै



काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीन कुने क्षेत्रमा लगाएको कर्फ्यु हटाएको छ । शुक्रबार काठमाडौं महानगरपालिकाको बानेश्वर तीनकुने क्षेत्रमा लागू भएको कर्फ्यु शनिबार (आज) बिहान ७ बजेसम्म तोकिएको थियो ।

शुक्रबार दिउँसो ४ः२५ देखि लगाइएको कफ्र्यु शनिबार बिहान ७ बजे हटाइएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहान ७ बजेबाट कर्फ्यु हटेको बताएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अहिलेलाई काठमाडौंमा लगाइएको कर्फ्यु हटाइएको जानकारी दिए ।

अवस्था सामान्य रहेकाले कर्फ्यु थप्नु पर्ने अवस्था नरहेकाले हटाइएको उनले बताए । करिब १५ घण्टापछि तीनकुने र आसपासका क्षेत्रमा लागाइएको कर्फ्यु हटेको हो । राजावदीहरूको प्रदर्शन भएको क्षेत्रमा कर्फ्यु लगाइएको थियो । काठमाडौंको बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु लगाइएको थियो ।

राजावादीहरूको प्रदर्शनमा नेपाल प्रहरीका ५३ प्रहरी, सशस्त्र प्रहरीका २२ र प्रदर्शनकारीतर्फ ३५ घाइते भएका थिए । दुईजनाको मृत्यु भएको थियो । सरकारी र निजी गरी १५ वटा सवारीसाधनमा क्षति पुगेको थियो । १४ स्थानमा आगजनी, ९ स्थानमा तोडफोड र एक ठाउँमा लुटपाट भएको प्रहरीले जनाएको छ ।

गृहमन्त्री लेखकले राजावादीले क्षति पुर्‍याएको तीनकुने क्षेत्रमा अनुगमन गर्दै

गृहमन्त्री रमेश लेखक राजावादीहरूले क्षति पुर्‍याएको तीनकुने–कोटेश्वर क्षेत्रको अनुगमन गर्ने भएका छन्। मन्त्री लेखक बिहान ९ बजे त्यस क्षेत्रमा अनुगमनका लागि जाने उनको सचिवालयले जनाएको छ ।

शुक्रबार राजतन्त्रका पक्षमा आयोजित आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको अनुमान गरिएको छ । हिंसात्मक आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने आन्दोलनकारीहरुले तीनकुने लगायत आसपासका क्षेत्रमा कयौं घरहरू तोडफोड गरेका छन् ।

केही मलहरूमा लुटपाट गरेका छन् । सरकारी र निजी गाडीहरुमा तोडफोडका साथै आगजनी गरेका छन् । जडीबुढी कम्पनीमा आगो लगाइदिएका छन् । त्यस क्षेत्रमा आज बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाइएको थियो । अहिले हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्